पोखरा म्याराथनमा १६ देशका १५० धावक

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७९
Pokhara Marathon (1)

पोखरा ।  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यही फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिता शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट सुरु हुने मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दौडमा सहभागिताका लागि विभिन्न विधामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विदेशी १६ देशका धावकसहित नेपालका ७ वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् ।

यस वर्षको खुल्ला म्यारथनमा १ सय ५० जना धावक सहभागी हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावकहरुले नाम दर्ता गराएको जनइएको छ । यस्तै १० किलोमिटर पुरुषतर्फ १ हजार ५ सय र महिलातर्फ ६ सय जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमशः १ हजार ६ सय र ६ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना, दृष्टिविहीन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । जसमा प्रदेशबाट सहभागी धावकहरुलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरुप क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने छ ।

यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरुप १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरुप क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार, १० हजार र ७ हजार रुपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेले प्राप्त गर्ने छन् । यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहीन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रालिले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

यसैबीच पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन् । यस्तो सहयोग गर्नेहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेले ४ लाख, न्यू ह्याम्पसायर बोस्टन अमेरिका निवासी नेपाली समाजले १ लाख १० हजार, एनआरएनए एनसिसी अस्ट्रेलियाले ५२ हजार, मञ्चका अस्ट्रेलियास्थित डर्बिन संयोजक चन्द्रप्रकाश गुरुङलगायत सहकर्मीहरुले एक मुष्ट ५१ हजार, समाजसेवी भोजबहादुर गुरुङले २५ हजार, तारा गुरुङ अस्ट्रेलियाबाट २५ हजार सहयोग प्रदान गरेका छन् । उक्त रकम पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्रप्रकाश गुरुङलगायतले आफ्ना भनाइ राख्दै पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा ल्याउन सहयोग गरेको बताए ।

पोखरा म्याराथनलाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक, केल्मी, एक्स टेप, नेपाल टुरिजम वोर्ड, हिमा अस लगायतले सहयोग तथा प्रायोजन गरेक छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width