बिटी कपमा गन्नी एफसी च्याम्पियन

लामागाउँ गुम्बा एफसी १–० गोल अन्तरले पराजित

आदर्श समाज सम्वाददाता
फागुन १, २०७९
Bt final news

पोखरा । बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टँुडिखेलमा सोमबार भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको गन्नीको जीतमा अनिश तामाङले निर्णायक गोल गरे । पहिलोपटक उपाधि जितेको गन्नी एफसीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ प्राप्त गरेको छ ।

क्लबका अध्यक्ष असीम थापाका अनुसार उपविजेता बनेको लामागाउँ गुम्बा एफसीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो ।
प्रतियोगितामा गन्नी एफसीका अनिश तामाङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित नगद ८ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक सोही टिमकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डर गन्नी एफसीकै लक्षु थापामगर, उत्कृष्ट डिफेन्डर लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ता सोही क्लबकै अनुज भण्डारी घोषित भए । उनीहरुले ट्रफी र जनही ६ हजार नगद प्राप्त गरे ।

वी आर ब्रदर्श काठमाडौंको टोली अनुशासित टिम घोषित हँुँदा सिल्डसहित नगद ९ हजार प्रदान गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगर, क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष असीम थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री जुग्जालीमगरले पोखराको परिचय पर्यटनमात्रै नभएर खेलकुदको पनि अहम् भूमिका रहेको बताए ।

उनले क्लबले रचनात्मक कार्य गर्दै आएको बताउँदै आगामी दिनमासमेत निरन्तर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्दै आफूले पहल गर्ने उल्लेख गरे ।

स्थानीय क्लबले खेलकुदको विकासमा योगदान गरेको भन्दै आगामी आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width