दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम

आदर्श समाज सम्वाददाता
माघ २६, २०७९
handicapped

पोखरा । कास्की नेत्रहिन संघको आयोजना र नेलम्बो नेपालको आर्थिक सहयोगमा दृष्टिविहीन शिक्षकका लागि आयोजित एडभान्स् आइसिटी तालिम मंगलबार सम्पन्न भयो ।

चार दिनसम्म चलेको तालिममा पोखराका विभिन्न विद्यालयमा कार्यरत ९ दृष्टिविहीन शिक्षकहरु र ३ उच्च शिक्षाका विद्यार्थीको सहभागिता थियो । तालिमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले गरेका थिए । सूचना प्रविधिको क्षेत्रमा विकास भएका पहुँचयुक्त एप्लिकेसन, एसिस्टिभ डिभाइस लगायत विषयमा अभिमुखिकरण गराइ कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले सूचना प्रविधिको प्रयोगमार्फत साङ्ग शिक्षकभन्दा पनि दृष्टिविहीन शिक्षकको शिक्षणबाट विद्यार्थीले धेरै लाभ लिन सक्ने कुरामा जोड दिए ।

कास्की नेत्रहिन संघ अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहीन तथा न्युन दृष्टियुक्त शिक्षकका लागि ३ महिने अंग्रेजी भाषा तालिम, ३ महिने सूचना प्रविधि तालिम संचालन गर्न चाहेको तर स्रोतको अभावले गर्न नसकेको गुनासो गरे । नेलम्बो नेपालका स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटाले संस्थाले आगामी दिनमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । समापनमा तालिमका सहभागी छवि आले र सुनिता ज्ञवाली, पृथ्वीनारायण क्याम्पस पुस्तकालय प्रमुख किशोर सुवेदीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width