अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ

आदर्श समाज सम्वाददाता
माघ २४, २०७९
aruna lama (1)

पोखरा । पोखरामा आइतबार अरुणा लामा–तारादेवी स्मृति साँझ भएको छ । स्वरसाम्राज्ञी अरुणा लामाको स्मृति दिवस पारेर पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा सो साँझ भएको हो ।

स्वरसाम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीमा समर्पित साँझ रजनी ऋदम राईको ‘यो मन त तलाउ हो ढुंगा नफ्याँक’ गीतसहित शुभारम्भ भएको थियो । त्यस्तै, अर्की कलाकार उषा गुरुङले ‘कालीपारे दाइ’ बोलको गीत गाइन् । रामभक्त जोजिजु र ईतु जोजिजुले स्वरसम्राट नारायण गोपाल र अरुणा लामाले गाएको ‘जीवनका हरेक मोडहरुमा’ गीत संयुक्त गाए शीतल थापाले ‘फूलको थुंगा बहेर गयो’ पस्किन् । लक्ष्मी गिरीले ‘घाममा पनि माया लागेको छ’ गीत गाउँदा गम्भीर बनेको माहोल कलाकार देवीमाया गुरुङ र मीलन गुरुङले ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत गाउँदा दर्शकको साथ पायो । ‘तिमीलाई हाँसेर बिदामात्र दिइसकेथें’ बोलको गीत अजुदा थापाले र ईतु जोजिजुले ‘पोहोर साल खुसी फाट्दा’ गाउँदा प्रिया गुरुङले ‘सबैले भन्थे’ बोलको गीत प्रस्तुत गरिन् ।

पिंगला भट्टले ‘फूललाई सोंधे कहाँ गयो कता गयो’ र कौशल्या गुरुङ र मिलन गुरुङले ‘ए कान्छा मलाई तारा खसाई देउन’ गाउँदा कुटी रिसोर्टको हल आल्हादित बनेको थियो ।

तारादेवीको ‘उकाली ओरालीहरुमा’ बोलको गीत पहिलोपटक मेल भर्सनमा रामभक्त जोजिजुले पस्किए । सानु जोजिजुले भायोलिन सुरमा ‘यति धेरै माया दिई’ गाउँदा शीतल थापाले ‘भेटिनु छुटिनु त संसारकै रीत हो’ गाउँदै कार्यक्रमको बिट मारिन् ।

एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले स्मृति साँझको औचित्य र आवश्यकताबारे प्रष्ट पारे । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायत संगीतप्रेमीको उपस्थित रहेको कार्यक्रममा साहित्यकार एवं फिल्म निर्देशक प्रकाश सायमीले अरुणा र तारादेवीको जीवनी पस्केका थिए । सिटिजन फर्निचर ट्रेड लिंकको प्रस्तुतिमा भएको कार्यक्रम आगामी वर्ष पनि निरन्तरता दिइने आयोजकले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width