पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म

धनबहादुर गुरुङ
माघ २४, २०७९
Pokhara Marathan Story Photo (2)

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा २०५८ फागुन ७ गते पोखरा म्याराथन भएको थियो । २० वर्ष अघिको पहिलो संस्करण भव्य रुपमा सकियो । प्रविधिको उतिसारो विकास नभइसकेको त्यो समयमा सबै काम हातले लेखेरै काम चलाएको सम्झना ताजै छ मञ्चका अध्यक्ष हरि पराजुलीको मष्तिस्कमा । ‘हातले चिठी लेखेर अनि हातै लेखिएका चेष्ट नम्बर बनाएर प्रतियोगिता सकाएको सम्झना ताजै छ,’ उनले भने ।

तर, समय परिवर्तन भएको छ । प्रविधिले फड्को मारेको यो युगमा पोखरा म्याराथनले पनि ठूलै फड्को मारेको छ । कुनै समय आर्थिक अभावकै कारण ५ वर्ष रोकिएको पोखरा म्याराथन सबैको साझा बनेको छ । पछिल्ला संस्करणमा तीनै तहको सरकार, संघसंस्था, उद्योगी घरनासँगै टोल विकास संस्था, आमा समूह, युवा क्लब, जातीय संघसंस्थाको राम्रो साथ पाएको छ ।

यही साथ र सफलताका कारण पोखरा म्याराथन एसोसियसन फर इन्टरनेसनल म्याराथन (एम्स) मा दर्ता भएको छ । पोखरा म्याराथन नेपालबाट एम्समा दर्ता हुने दोस्रो प्रतियोगिता बनेको मञ्चका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । ‘पोखरा म्याराथन एम्समा दर्ता हुने ४० औं प्रतियोगिता बनेको छ । नेपालमा भने दोस्रो हो,’ उनले भने, ‘प्रक्रिया हामीले पहिला सुरु गरेका हौं । तर नेपालगञ्जले हामीले भन्दा २ दिन अगाडि सदस्यता पाएको हो ।’

लामो समयको प्रयास र प्रक्रियापछि एम्सको सदस्यता पाएको उनले बताए । ‘यसका लागि हामी योग्य थियौं । एम्समा दिनुपर्ने सबैभन्दा पहिलो कुरा रुटको प्रमाणीकरण गरिसकेपछि सदस्यता दिएको हो,’ उनले भने, ‘धावकहरुक लागि शौचालय निर्माण, खाजाको व्यवस्थालगायत विषयमा सम्झौता पनि भएको त्यसको पालना पनि हामीले गर्नैपर्छ ।’ एम्समा दर्ता भएपछि पोखरा म्याराथन अन्तर्राष्ट्रिय बाटोमा हिँडेको उनको भनाइ थियो । यसले गर्दा पोखरा म्याराथन विश्वले चिन्ने उनले बताए ।

अन्तर्राष्ट्रिय मान्यता पाएकाले यो पटकदेखि धावकहरुले चिप्सको प्रयोग गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । ‘धरान रनका संस्थापक सन्तोष राईले चिप्सका लागि सहयोग गर्ने भन्नुभएको छ । चिप्सको टेक्निसियनहरु पनि उहाँले नै ल्याउनुहुन्छ,’ उनले भने, ‘एउटा डिभाइस कम्प्युटरसँग कनेक्ट गरिन्छ र धावकले चिप्स लगाएपछि समय हेरिरहनुपर्दैन जसले गर्दा प्राविधिक जनशक्ति धेरै चाहिँदैन ।’ यो पटक म्याराथन र हाफ म्याराथनको धावकहरुले मात्र चिप्स प्रयोग गर्ने उनले बताए ।

धावकले चिप्स लगाएपछि समय हेरिरहनुपर्दैन जसले गर्दा प्राविधिक जनशक्ति धेरै चाहिँदैन

निकै समस्याका साथ सुरु गरेको प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दा निकै खुसी लागेको संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले बताए । पहिलो, दोस्रो म्याराथन गर्दा मञ्चका सदस्यहरुले नै पैसा जम्मा गरेर प्रतियोगिता गरेको उनले सम्झिए । चौंथो संस्करणसम्म पुग्दा विभिन्न संघसंस्था भूपू खेलाडी मञ्चसँग जोडिन पुग्यो । त्यसपछि अन्य संस्करणका लागि झनै बल पुग्यो । केही वर्ष राष्ट्रिय वाणिज्य बैंकको टाइटलमा नै म्याराथन भयो । नवौं पोखरा म्याराथनमा एआरएन जोडियो र एआरएन पोखरा म्याराथनकै नामबाट प्रतियोगिता भयो । यो बिचमा म्याराथनलाई आकर्षक बनाउन उमेर समूहका र पत्रकारलाई पनि दौडायो । आठौं संस्करणबाट भने १० किलोमिटर र ५ किलोमिटरको दांैड पनि समावेश गरेको संस्थापक अध्यक्ष रानाभाटले बताए ।

नवौं गरेपछि एआरएनले पनि साथ छोड्यो । सरकारी निकायबाट पनि जनप्रतिनिधि नहँुदा अनि कर्मचारी पनि छिनछिनमा परिवर्तन भइरहने कारण आर्थिक सहयोग आउनुपर्ने ठाँउबाट पनि रकम प्राप्त गर्न समस्या भयो । संस्थालाई आर्थिक संकट पर्दै जान थाल्यो । द्वन्द्व र जनआन्दोलका बिचमा पनि नरोकिएको पोखरा म्याराथन २०६७ पछि भने ब्रेक लाग्यो । त्यो बिचमा पनि मञ्चले केही न केही खेल गतिविधि गरि नै रह्यो ।

ब्रेक लागेको अवस्थामा लक्ष्मी ग्रुपको सफल दूधलाई प्रायोजक भेटायो । २०६७ सालदेखि ब्रेक लागेको म्याराथन २०७२ देखि सफल पोखराको नामबाट फेरि सुरु हुने भयो । २०७२ बाट सुरु भएको पोखरा म्याराथनमा १५ औं सम्म आइपुग्दा सफल दूधकै प्रायोजन गरिरहेको संस्थाका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । भूपू खेलाडी मञ्चले १२ औं संस्करणबाट अपांगहरुका लागि दृष्टिविहीन र ह्वील चियर दौंड पनि समावेश गरेको उनको भनाइ छ । म्याराथन खुला भएको कारण विदेशी धावकहरुको पनि सहभागिता रहेको उनी बताउँछन् । १४ औं संस्करणमा विदेशीले उपाधि जितेपछि म्याराथनको चर्चामा झनै चुलिन पुग्यो । त्यो संस्करणमा जापानका ताकानासीले उपाधि जितेका थिए । आर्थिक अवस्था कमजोर भए पनि समयको माग सँगै पुरस्कार राशि वृद्धि गर्दै गएको पूर्व अध्यक्ष गुरुङले जानकारी दिए । ‘पहिलो संस्करणमा ५० हजार पुरस्कार राखेका थियौं,’ उनले भने, ‘समय अनुसार बढाउँदै ७० हजार, १ लाख हुँदै अहिले ५ लाख पु¥याएका छौं ।’ पहिले लेखनाथतिर पनि रुट पारिने गरेकोमा पोखरा महानगर भइसकेपछि अहिले पोखरामा मात्र रुट बनाइएको छ । पछिल्ला केही संस्करण पोखरा १ देखि १७ नम्बर वडामा दौडाउने गरिएको छ ।

सुरुका दिनमा अर्थकै कारण प्रतियोगिता गर्न समस्या परे पनि आजभोलि ३ तहका सरकार, विदेशी संघ संस्था, खेलकुदप्रेमीको सहयोगले थप हौसला पलाएको मञ्चका प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय स्थानीयको पनि राम्रै साथ र समर्थन छ । दौडमा पोखराका विभिन्न टोलमा जातिगत भेषभूषासहित सांस्कृतिक झाँकीले धावकहरुलाई अझ जोस पलाएको गुरुङ बताउँछन् । गण्डकी प्रदेश सरकार प्रमुख संरक्षक र पोखरा महानगर संरक्षक बनेर साथ दिएकाले थप हौसला थपिएको उनले बताए ।

त्यही हौसला र साथका कारण १७ औं संस्करणको पोखरा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको प्रथम उपाध्यक्ष गुरुङले जानकारी दिए । अहिले अनलाइन माध्यमबाट फर्म भर्ने काम चलिरहेको उनले बताए । ‘सोमबारसम्म अनलाइन मार्फत् ४० जना म्याराथन, १० जना हाफ म्याराथनका लागि महिलाहरुले फर्म भर्नुभएको छ । सबै विधामा ५ सयभन्दा बढीको फर्म प्राप्त भइसकेको छ’ उनले भने, ‘हामीले माघ २९ गतेसम्म फर्म खुला गरेका छौं त्यो समयसम्म धावकहरु बढ्नेमा ढुक्क छौं ।’

आगामी दिनमा एम्सको नियम र परिधिमा रहँदै म्याराथन गर्दै जाने र अबको केही वर्षमा ५० हजार धावकलाई दौडाउने लक्ष्य लिएको मञ्चका अध्यक्ष पराजुलीले बताए । आफूहरुको मुख्य समस्या ट्राफिकको भएकाले आगामी दिनमा त्यो समस्यामा पनि हल हुँदै जानेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width