मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार

आदर्श समाज सम्वाददाता
माघ २१, २०७९
PTC news

पोखरा । मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नति कार्य अव्यवस्थित र सुस्त हुँदा पोखराको पर्यटनमा प्रत्यक्ष मार परेको गुनासो व्यवसायीले गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वागत र सम्मानमा पोखरा पर्यटन परिषद्ले शुक्रबार आयोजना गरेको कार्यक्रममा सडक निर्माणको गति व्यवस्थित र तीव्र हुनुपर्र्ने तथा यसका लागि प्रदेश सरकारले सक्रियता बढाउनुपर्ने माग व्यवसायीले राखे ।

निर्माण सुस्त र अव्यवस्थित हुँदा स्थलमार्गबाट ओहोरदोहोर गर्ने यात्रुले गन्तव्यमा पुग्न घण्टौं समय व्यतित गर्नु परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । गत १ माघमा पोखरामा भएको यती एअरको एटिआर विमान दुर्घटनापछि हवाई मार्गबाट यात्रा गर्ने आन्तरिक पर्यटकको संख्या घट्न पुगेको र सडक मार्गबाट आउँदा यात्रुले दुख पाएको उनले बताए । हवाई दुर्घटना र पृथ्वीराजमार्गको सकसपूर्ण यात्राले पोखराको पर्यटन मारमा परेको उनले गुनासो गरे ।

अहिले नारायणगढ–मुग्लिन सडकमा पनि थप १ महिना बाटो बन्द गरेर काम गरिंदै छ । दिउँसो सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्न ५ माघदेखि दिउँसो १२ देखि ४ बजेसम्म यातायात आवागमन बन्द गरिंदै आइएको छ । यसअघि ५ पुसदेखि ३० दिनका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुँदै आएको थियो । यसैगरी पोखरा–बाग्लुङ सडक खण्डमा १२ माघदेखि भिर कटानका लागि भन्दै प्रत्येक दिन ८ घण्टा सडक रोकिंदै आइएको छ ।

मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नति छिटो सक्न पोखराका पर्यटन व्यवसायीको माग

पर्यटनको लागि सहज पहुँच महत्वपूर्ण पक्ष भए पनि पोखरा पुग्ने सबैजसो मार्गहरुमा अवरोध सिर्जना हुँदा पर्यटक आगमन भारी मात्रामा घट्न पुगेको परिषद्ले जनाएको छ ।
मुख्यमन्त्री अधिकारीले ठेकेदारले सम्झौता अनुसार काम नगर्दा यात्रुले दुख पाएको र पर्यटनमा नै असर परेकोबारे आफू जानकार भएको बताए । ठेकदारले ५–५ किलोमिटरको दरले सडक बनाउने र सँगै समानान्तर रुपमा सवारी कट्न एक्सेस मार्ग पनि निर्माण गर्ने सम्झौता भए पनि त्यो पालना नभएको उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको अवस्थामा पोखरातर्फबाट काम सुरु गर्नुपर्नेमा ठेकेदारले अटेर गरेको उनको भनाइ थियो । ‘आवश्यक परे ठेक्का तोडेर नयाँ ठेकेदार छनोट गर्नुपर्छ भन्ने पक्षमा म छु,’ उनले भने, ‘सम्झौता अनुसारको काम हुनु प¥यो ।’

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले सडक स्तरोन्नतिको गति ढिलो हुँदा समग्र पर्यटनमा असर परेको बताए । सडक स्तरोन्नति कार्य तीव्र पार्न सरकारले पहल गर्नुपर्ने सुझाव उनले राखे । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कनेक्टिभिटी अहिले पोखरा आउने पर्यटकका लागि प्रमुख समस्या भएको बताउँदै पृथ्वी राजमार्गको स्तरोन्नतिलाई तीव्रता दिनुपर्ने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले पदयात्रा क्षेत्रको विकासका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले पदयात्रा क्षेत्रमा मौसमको पूर्व अनुमान प्रणाली स्थापना गरिनुपर्ने सुझाव राखे । गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी अध्यक्ष उदय सुवेदीले आन्तरिक पर्यटन बढाउन अन्तरप्रदेश प्रवद्र्धनात्मक अभियान संचालन गरिनुपर्ने सुझाव राखे । घरबास दर्ताको कार्यक्रम स्थानीय तहबाट प्रदेश सरकारले नै खिच्न लागेको भनी उनले त्यस्तो नगर्न अनुरोध गरे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्तर्फबाट अध्यक्ष श्रेष्ठले बैंकको चर्को ब्याजले व्यवसाय संचालन गर्न कठिन भएको, चीनले आफ्ना नागरिकका लागि घुम्न जान अनुमति दिएको देशको सूचीमा नेपाललाई पनि समावेश गर्न पहल गर्नुपर्ने, भारतमा नेपालको प्रवद्र्धन गरिनुपर्ने, मुक्तिनाथमा भारतका प्रसिद्ध व्यक्तिहरुलाई भ्रमण गराउन पहल गर्नुपर्ने, कोरला नाका खोल्नका लागि कुटनीतिक पहल थाल्नुपर्ने, नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय उडान संचालनको पहल थाल्नुपर्ने विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । लेकसाइडलाई मात्र लक्षित गरी मापसे चेक गरिन नहुने भनाइ परिषद्का पूर्व अध्यक्ष भुजेलको थियो ।

मुख्यमन्त्री अधिकारीले बैंकको चर्को ब्याज सम्बन्धमा आफूले संघीय अर्थमन्त्रीसँग पनि कुरा राखेको, आफैं बैंकको चर्को ब्याजबाट पीडित व्यक्ति भएको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बिआरआई कार्यक्रमअन्तर्गतको योजना नभएको बताए । उनले पर्यापर्यटनको विकास गरिनुपर्ने, पोखरामा अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउनुपर्ने, पर्यटकीय प्रडक्टको उचित प्रवद्र्धन गरिनुपर्ने जस्ता भनाइ पनि राखे । नेपाल पर्यटन बोर्डको प्रद्र्धनमा भएको कार्यक्रमको संचालन परिषद् महासचिव सञ्जयकान्त सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width