जलचराको प्रजाति बढ्दै संख्या घट्दै

रासस
माघ २०, २०७९
bird

गण्डकी |

‘उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा
पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।
छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी
क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी केगरी ।।’

कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता संग्रह ‘दुलही’ को बाँच्छ्यांै चरी केगरी शीर्षकको यस कवितांशमा भनिए जस्तै पछिल्लो समयमा बस्ती विकासको क्रम बढ्दा चराहरूको वासस्थान पनि नासिंदै गएका छन् । बर्सेनि चराको संख्या घट्दै गएको छ । बर्सेनि हुने गणनामा चराको संख्या घट्दो क्रममा देखाइएको छ । विश्वव्यापीरुपमा प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलचराको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । पोखरामा पनि प्रत्येक वर्ष जलचराको गणना गर्दै आइएकामा यसवर्ष जनवरी १२ देखि १४ सम्म तिनको गणना गरिएको उनले बताए ।

तालैतालको सहर पोखरामा रहेका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीचभाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।
पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङहुँदै बग्ने कालीगण्डकीसहित विभिन्न जल सम्पदाका कारण पोखरा मात्र नभइ समग्र गण्डकी प्रदेश नै चराचुरुंगीका लागि आकर्षक वासस्थानमा मानिन्छ । अध्यक्ष घिमिरेका अनुसार पोखरामा यसवर्षको जलचरा गणना लेखनाथका सात ताल, विजयपुर खोला र फेवाताल आसपासका क्षेत्रमा गरिएको थियो ।

बर्सेनि चराको संख्या घट्दै जानु यतिखेर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला ३ वर्षको तथ्यांकले पोखरा र आसपासका क्षेत्रमा जलचराको संख्या घट्दो क्रममा देखिएको छ । सन् २०२१ को गणनामा पोखरा र आसपासमा ४६ प्रजातिका जलचरा भेटिएका थिए । त्यस वर्ष कुल चराको संख्या ३ हजार ८५ गणना गरिएको थियो । सन् २०२२ को गणनामा ४५ प्रजातिका ३ हजार ८ चरा भेटिएका थिए । यस वर्ष (सन् २०२३)को गणनामा प्रजाति थपिएर ५४ पुगे पनि संख्या भने घटेर २ हजार ६ सय २२ पुगेको उनले जानकारी दिए । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम बर्सेनि बढ्दै गए पनि चराको संख्या घट्दै जानु चुनौतीका रुपमा लिइएको छ ।

पछिल्ला ३ वर्षको तथ्यांकले पोखरा र आसपासका क्षेत्रमा जलचराको संख्या घट्दो क्रममा देखिएको छ

नेपालमा आउने विदेशी पर्यटकमध्ये ८ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अन्वेषकले बताए । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेका छन् ।

पछिल्ला वर्षमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणले संकटमा पर्दै गएको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले बताए । पोखरा र आसपासमा चराका वासस्थान विभिन्न कारणले संकुचन हुँदै गएको उल्लेख गर्दै उनले नवनिर्मित पोखरा विमानस्थल र आसपासमा बस्ने गरेका प्राय मांशाहारी प्रजातिका चरा आफ्नो वासस्थान हराएसँगै वरपरका विभिन्न स्थानमा वासस्थान खोज्दै गएको बताए ।

पोखराको फेवातालबाट लेखनाथ तालमा चरा विचरणका लागि आवतजावत गर्ने गरेको पनि सचिव ढकालले बताए । सामान्यतः बिहानको समयमा फेवातालबाट ठूलै समूहमा चरा लेखनाथका तालमा चर्न जाने र बेलुका फर्कने गरेको उनको भनाइ थियोे । हिउँद सुरु भएसँगै चीन, मंगोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै पोखरा र आसपासमा क्षेत्रमा आउने गरेका क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको यहाँका बुढापाकाले बताए ।

ठूलाठूला झुण्डमा आउने क¥याङकुरुङ पोखरा र कालीगण्डकी उपत्यका पार गर्दै भारतको राजस्थानलगायत स्थानमा पुग्ने गर्दछन् । कास्की र आसपासका क्षेत्रमा क¥याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै रहेको स्थानीयवासी रामचन्द्र सुवेदीले बताए । स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित देवपूजे ढुंगालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका वासिन्दाको भनाइ थियो ।

विगतमा खोला किनारा र अन्य जलाशयमा पाइने चरा पनि अहिले पाउन छोडिएको छ । लेखनाथ क्षेत्रस्थित रुपातालमा १०/१२ वर्ष अघिसम्म देखिने गरेको दाह्रे हाँस (रजहाँस) र सेतोहाँस अहिले पाउन छोडिएको छ । पछिल्ला वर्षमा पोखरा र आसपासका जलाधार क्षेत्रमा पहेंला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति साथै संख्या पनि कम हुँदै गएको अध्ययनले देखाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width