पोखरा २३ लाई दोहोरो उपाधि

आदर्श समाज सम्वाददाता
माघ १९, २०७९
volley ball day 3 news

पोखरा । अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगितामा पोखरा वडा २३ ले दोहोरो उपाधि जितेको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार फाइनलमा वडा २३ को महिला र पुरुष दुवै टिमले उपाधि जितेको हो । पुरुषतर्फ वडा १६ दोस्रो र वडा २० तृतीय भए । महिलातर्फ वडा १८ दोस्रो र वडा १५ तृतीय भए ।

पुरुषतर्फ फाइनलमा वडा १६ लाई ३–२ को सेट र महिलातर्फ वडा १८ लाई ३–० को सोझो सेटमा हराउँदै प्रथम भएको हो । दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले उत्कृष्ट विधागत पुरस्कार पाएका छन् । पुरुषतर्फ वडा २० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, वडा २३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए । वडा १६ का विजय सुनार उत्कृष्ट खेलाडी बने ।

महिलातर्फ वडा २३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, सोही वडाकी निशा भुजेल उत्कृष्ट सेटर, सविना पौडेल उत्कृष्ट डिफेन्डर र वडा १८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए । वडा २३ की निशाले उत्कृष्ट खेलाडीको पुरस्कार पाइन् । विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन् ।

पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । समापनमा खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width