फागुन १६ बाट सृजना कप भलिबल

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
srijana cup Volleyball

पोखरा, १७ माघ । सृजना विकास केन्द्र सिमलचौर पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा फागुन १६ देखि १९ गतेसम्म पोखरा रंगशालामा सामुदायिक विद्यालयस्तरीय पाँचौं सृजना कप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित हरेक विद्यालयमा भलिबल खेल पुर्‍याउने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा कास्की जिल्लाभरका ५० टिमले भाग लिने अनुमान आयोजक संस्थाले गरेका छन् ।

प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुवै तर्फकालाई एक–एक लाख रुपैयाँ र उपविजेतालाई ६०/६० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी तृतीय हुने विद्यालयले ३५/३५ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । सिल्ड, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ । प्रतियोगिताका सर्वोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडीलाई पाँच–पाँच हजार रुपैयाँ नगद र ट्रफी दिइने छ । बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट सेन्टर र बेस्ट सर्भरलाई एक एक थान भलिबल प्रदान गरिने छ ।

कास्की जिल्ला भरिका सामुदायिक अर्थात् सरकारी विद्यालयले प्रतियोगितामा भाग लिने आयोजक सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । खेलाडीको प्रतिभा प्रष्फुटन गर्दै सक्षम र नेतृत्वदायी भूमिकामा पुग्ने खालको जनशक्ति उत्पादनमा प्रतियोगिताले टेवा दिने विश्वास उलने सो अवसरमा व्यक्त गरे । कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिन पाउने छन् ।

राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय एवं विद्यालयस्तरबाट नै खेलको जग बलियो बनाई उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिता संचालन गर्न ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरी एक लाख ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य रहेको छ । वचत रकम भलिबल खेलकै विकास र विस्तारका लागि कोष खडा गरी जम्मा गरिने र सृजना विकास केन्द्रद्वारा सञ्चालित वालगृहको सहयोगार्थ खर्च गरिने केन्द्रका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न दुबै संस्थाका कार्यसमितिका पदाधिकारी रहेको व्यवस्थापन समिति गठन गरिएको र दुवै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार सहितको सल्लाहकार समिति पनि गठन गरिएको संघका उपाध्यक्ष एवं प्रतियोगिताका सहसंयोजक लेखनाथ लम्सालले जानकारी दिए । केन्द्रका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेलको संयोजकत्वमा प्रचारप्रशार समिति पनि गठन गरिएको छ । प्रतियोगिताको संयोजकमा भने सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार मीनप्रसाद भट्टराई छन् ।

सृजना विकास केन्द्र २०३७ सालमा स्थापित गैरसरकारी संस्था हो । यसले आफ्नो स्थापनाकालदेखि नै महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण र खेलकूदको क्षेत्रमा स्थानीय सरकारसँग साझेदारी गर्दै सामाजिक कार्य गर्दै आइरहेको छ । यसैगरी कास्की जिल्ला भलिवल संघ भलिवल खेलको विकास, विस्तार र भलिवल खेलाडी उत्पादनमा सघाउने उद्देश्यले स्थापित संस्था हो । विगत पाँच वर्षदेखि सृजना विकास केन्द्रले सृजना कप कास्की जिल्लास्तरीय भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width