मन्त्री रोशनले खुवाए आफ्नै बुहारीलाई सरकारी जागिर

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
roshan gaha

नवलपरासी, १७ माघ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री रोशनबहादुर गाहाले आफ्नै बुहारीलाई सरकारी जागिर खुवाएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहाले बुहारी सजिना थापालाई यातायात व्यवस्था कार्यालय, नवलपुरमा कम्प्युटर अपरेटर (पाँचौं तह) मा करारमा नियुक्तिका लागि सम्बन्धित मन्त्रालयबाट पत्राचार गरेका हुन् ।

नवलपुरबाट प्रदेशसभामा दोस्रो पल्ट निर्वाचित गाहा नेकपा (एमाले) नवलपुरका अध्यक्ष समेत हुन् । उनले मन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट माघ १२ मा बुहारी सजिना भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीको पत्र लिएर करारमा जागिर खान यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्व पुगेकी हुन् । उनलाई अस्थायी कम्प्युटर अपरेटर (पाँचौं तह) मा नियुक्त गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालयलाई पत्र लेखेको छ । मन्त्रालयका अधिकृत दशौं टीकाराम पौडेलले हस्ताक्षर गरेको चलानी नं. ७४० को माघ ६ गतेको पत्रमा स्वीकृत दरबन्दी तेरिजअनुसार कार्यालयमा रहेको अस्थायी कम्प्युटर अपरेटर पाचौं तहको रिक्त पदमा थापालाई नियमानुसार कार्यालयबाट नै सेवा करारमा व्यवस्थापन हुन आदेशानुसार अनुरोध गरिएको छ ।

गण्डकी प्रदेशमा माघ १० मा मन्त्रालयहरुको भागवण्डा गरिएको थियो । नवलपुर प्रदेशसभा १ (ख) बाट दोस्रो पटक निर्वाचित गाहाले सोही दिन मन्त्री पदको सपथ ग्रहण गरेका थिए । माघ ११ मा उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका थिए ।

एमाले नेतृत्वमा गण्डकी प्रदेश सरकार गठनदेखि नै मन्त्रीका मुख्य दाबेदार गाहालाई एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज अधिकारीले दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । संसदीय दलको प्रमुख सचेतक र मन्त्रीको मुख्य दावेदार रहेकै समय गाहाकी बुहारी सजिनाले करारमा नियुक्तिको प्रक्रिया अगाडी बढाएको देखिन्छ ।

मन्त्रालयबाट प्राप्त पत्रको आधारमा थापालाई हाजिर गराउने प्रक्रिया थालिएको यातायात व्यवस्था कार्यालयका प्रमुख टेकबहादुर घर्तीले बताए । थापालाई नियुक्तिको पत्र दिई नसकेको घर्तीले बताए । माघ ११ गते मन्त्रालयको पत्र लिएर कार्यालय आएकी थापा माघ १२ गते बाहेक निरन्तररुपमा कार्यालयमा आउने र कम्प्युटर सिक्ने गरेको उनले बताए ।

कार्यालयमा रहेको स्वीकृत दरबन्दीमा यसअघि कार्यरत कम्प्युटर अपरेटरहरुको करार सम्झौता नवीकरण नहँुदा अहिले उक्त पद रिक्त देखिएको हो ।
यसअघि प्रदेश सभा सदस्य हुँदा गाहाले बुहारीलाई नै आफ्नो स्वकीय सचिवको रुपमा नियुक्ति गरेका थिए । परिवारको सदस्यलाई स्वकीय सचिव नियुक्ती गरेर आफैले सुविधा बुझेको भन्दै सो समयमा समेत उनको आलोचना भएको थियो।

स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले अन्य मन्त्रीहरु विनाविभागीय रहेको अवस्थामा आफंैले तोक लगाएर गण्डकी प्रदेश सरकार मातहत रहेको तनहूँ, कास्की, नवलपुर लगायतका जिल्लाका कार्यालयमा २ दर्जन बढीलाई मन्त्री निकटका आफन्त र पार्टीका कार्यकर्तालाई तोकआदेश भरमा कार्यालयहरुमा करारको रुपमा पठाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width