भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल ११० औं स्थानमा

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
corruption

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) २०२२ सार्वजनिक गरेको छ । सूचकांक अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ । सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक दिइएको छ । सिपिआई २०२१ मा नेपालको अंक ३३ अर्थात् ११७ औं स्थानमा थियो । नेपालको अंकमा केही सुधार देखिएको छ ।

सन् २०२२ को सूचकांकमा नेपालको स्थान औसतभन्दा तल रहेको अर्थात् भ्रष्टाचार गम्भीर समस्याकै रुपमा रहेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सिपिआई २०२२ सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रुपान्तरण हुने उल्लेख गरेको छ ।

एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको उसले भनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनले सरकारहरुलाई भ्रष्टाचार विरोधी प्रतिबद्धतालाई प्राथमिकता दिन, सूचनाको हक कायम राख्न तथा निजी प्रभाव कम गर्दै भ्रष्टाचार र त्यसबाट उत्पन्न हुने द्वन्दबाट मुक्त हुन आग्रह गरेको छ ।
सूचकांकका अनुसार डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

सिपिआई २०२२ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२५ औं), मालदिभ्सले ४० अंक (८५ औं), भारतले ४० अंक (८५ औं), श्रीलंकाले ३६ अंक (१०१ औं), पाकिस्तानले २७ अंक (१४० औं), बंगलादेशले २५ अंक (१४७ औं) र अफगानिस्तानले २४ अंक (१५० औं) प्राप्त गरेका छन् । चीनले ४५ अंक (६५ औं) प्राप्त गरेको छ ।
सन् २०२२ मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भि–डिइएमसहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सिपिआई २०२२ को आधार मानिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width