लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । यसको निर्णय भने यसअघि नै कृष्णचन्द्र नेपाली पोखरेल सरकारका पालमा भएको थियो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको बताउनुभयो ।
राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । दुई देशका यी पावन भूमिका लाखौँलाख नेपाली र भारतीय दर्शनार्थीको भीड लाग्ने उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित शिला हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिसमेत सहभागी थिए । विश्वमै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीको दुई थान शिला जनकपुरधाम हुँदै हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या पु¥याइने छ । एउटा शिलामा रामको बाल्यकालको अवस्था झल्किने प्रतिमा तथा अर्कोमा सीताको प्रतिमा निर्माण गरिने रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभयो ।
“कालीगण्डकीबाट भगवान् रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो हुन्छ”, उहाँले भन्नुभयो । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन शालिग्रामले धर्मदूतको काम गर्ने पङ्कजको धारणा थियो ।
बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको छ । बिहीबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएका शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत पूजाआजा गरेपछि हस्तान्तरण गर्नुभएको थियो ।
भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिकाका प्रमुख केसीले कालीगण्डकीबाट लामो समय टिक्ने २६ टन र १४ टनका दुई थान शिला गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै अध्योध्यालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुुभयो । रासस
Related News
सम्बन्धित समाचार
भजन चुड्कासँगै धार्मिक ज्ञान पान
कृष्णप्रसाद गौतम एकल साँझ
थकालीले मनाए तोरन्ल पर्व
पोखरामा तोरन्लको रौनक
वडाले दियो मादल बजाउने तालिम
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९