फिस्टेलमा विद्यालयस्तरीय कविता प्रतियोगिता, बुक क्लब गठन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
Fishtal Image D

पोखरा । श्रीपञ्चमी एवं सरस्वती पूजाको अवसर पारेर पोखराको फिस्टेल एकेडेमीले अक्षराम्भ कार्यक्रम, फिस्टेल बुक क्लबको उद्घाटन तथा पुस्तक मेला र खुला विद्यालयस्तरीय कविता प्रतियोगिता गरेको छ ।
कार्यक्रममा साहित्यकार एवं नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठले फिस्टेल एकेडेमीले सृजनात्मक एवम गुणस्तरीय जोड दिँदै गएको बताए । मानव केन्द्रित चाहाना विद्याबाट प्राप्त हुने भएकाले सृजनात्मक रुपले सुविचार र चिन्तन प्रक्षेपण गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

पठन संस्कृतिको विकासमा जोड दिएर बौद्धिक ज्ञान आर्जन गर्न सकिने जनाउँदै फिस्टेलका विद्यार्थीले बुक क्लब गठन गरेर पुस्तक प्रदर्शनी गर्नु निकै सकारात्मक भएको धारणा राखे । सरुभक्तले आफ्ना पुस्तकहरु पागल बस्ती र समय त्रासदीको हस्ताक्षरित प्रति फिस्टेल बुक क्लबलाई हस्तान्तरण गरेर औपचारिक रूपमा क्लबको उद्घाटन गरे । उनले आफ्नो बालबालिका केन्द्रित पुस्तक छिट्टै आउन लागेको पनि जानकारी गराए ।
कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले फिस्टेल एकेडेमीले शैक्षिक र अतिरिक्त क्रियाकलापमा खेलेको भूमिका निकै प्रशंसनीय रहेको जनाउँदै शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधाारमा फिस्टेल अग्रस्थानमा रहेको बताए ।

विद्यालयका संस्थापक सञ्चालक चिनु रानाभाटले विद्यालयले गुुणस्तरीय शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित सृजनात्मक तवरले आधुनिक शिक्षा प्रणालीलाइ अवलम्बन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले पोखराको फिस्टेल एकेडेमीले गुणस्तरीय शिक्षाका लागि काठमाडौं लगायत विदेशका विद्यालय खोजेर जाने सोचलाई बदल्न सफल भएको भनाइ राखे ।
विद्यालयका कार्यकारी निर्देशक तथा स्तम्भकार दिनकर नेपालले स्वागत मन्तव्य मार्फत शिक्षा, साहित्य र समाजको पारस्परिक सम्बन्धलाई झन् प्रगाढ बनाउँदै जाने जमर्काेका रुपमा कार्यक्रमको औचित्य प्रस्ट्याए ।

कक्षा १२ का विद्यार्थी प्राप्ति लम्सालले सरुभक्तलाई पहिलो पल्ट भेट्दाकोे अनुभव साट्दै विद्यार्थीको लागि सरुभक्त प्रेरणाको स्रोत भएको बताइन् ।
विद्यालयले आयोजना गरेको खुला विद्यालयस्तरीय कविता प्रतियोगिताबाट उत्कृष्ट ५ मा पर्न सफल भानुभक्त आमाविकी अन्जना सुवेदी, सैनिक आवसीय मावि पोखराका प्रवीण ढकाल, त्रिभुवन शान्ति नमुना माविकी रश्मि गौतम, कुमुदिनी होम्स पोखराकी रिया श्रेष्ठ, अञ्जुली आमाविकी सन्तोषी ढकालले कविता प्रस्तुत गरे । उनीहरुलाई सरुभक्त र विद्यालय सञ्चालक चिनु रानाभाटले नगद र प्रमाणपत्र प्रदान गरे । निर्णायकको भूमिका शिव संकल्प, गोपाल खनाल र प्रकाश अधिकारीले निभाए ।

उक्त अवसरमा विद्यालयमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय संयोजक गिताञ्जली राठौरले विद्यालयका शैक्षिक एवं अतिरिक्त क्रियाकलापको बारेमा जानकारी गराइन् । कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पोखरा १७, की अध्यक्ष राधिका शाहीलगायतले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width