तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
Tamu Sanskritik Photo

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २२ औं वार्षिकोत्सव स्रष्टा सम्मानसहित विविध सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । बुधबार आयोजित समारोहमा सम्मानसहित पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा १० हजार राशिको पार्वता तमु स्मृति पुरस्कार समाजसेवी दिलबहादुर तमुलाई अर्पण गरिएको छ । तमु सांस्कृतिक प्रतिष्ठान उच्च विद्यार्थी पुरस्कारबाट प्युठानकी राधा तमु पुरस्कृत भइन् । उनलाई २० हजार रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरियो । यस्तै, प्रतिष्ठानका पूर्व कोषाध्यक्ष भीमकाजी तमुले उनलाई २० हजार थपिदिएको अध्यक्ष चित्रबहादुर तमुले बताए ।

२० हजार राशिको लालशोभा उत्कृष्ट आमा पुरस्कारबाट लमजुङका रोशन तमुका आमा टकमाया तमुलाई पुरस्कृत गरिएको छ । क्या. मीनबहादुर तमु डाँफे बुढा स्मृति पुरस्कार मेनकाजी गुरुङलाई मरणोपरान्त सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि १५ हजार छ । प्रतिनिधि सभा सदस्य मनबहादुर तमु, प्रदेश सभा सदस्य सरस्वती तमु र तमु धिं युके अध्यक्ष हरि तमुले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले तमुहरुको हक अधिकारका लागि नेतृत्व तहसम्म पुग्न जरुरी रहेको बताए । तमुहरुको भाषा, संस्कार, संस्कृति बचाउन तमुहरु एकजुट हुनुपर्ने उनको जोड थियो । प्रदेशसभा सदस्य सरस्वती गुरुङले प्रतिष्ठानले स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा कार्य गर्दै आएकाले यसलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा तमु धिं युके अध्यक्ष हरि गुरुङले ११ शीर्षकमा अक्षयकोष स्थापनाको घोषणा गरेका थिए । विभिन्न ११ शीर्षकमा प्रतिशीर्षक १ लाख २५ हजार रहने गरी कोष सञ्चालन हुने उनले बताए । प्रतिष्ठानले स्थापनाकालदेखि नै सबैभन्दा बढी शिक्षा क्षेत्रमा काम गरिरहको सचिव कञ्चन गुरुङले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width