अयोध्यामा श्रीरामको मूर्तिका बनाउन कालीगण्डकीबाट शिला निकालियो   

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
kaligandaki shila

गलेश्वर  ।  भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ ।

शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गरिनेछ । म्याग्दीको बेनी नगरपालिका-६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला क्रेनमार्फत् निकालेर गलेश्वर पठाइएको छ ।

भोलि वसन्तपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापूजा र गङ्गापूजन जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दास र अयोध्याको राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाउन लागिएको हो ।

हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताउनुभयो । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कालीगण्डकीको किनारका शिला देवताका अवतार हुन्”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन गरी टिपरमा राखी अयोध्या पठाउन लागिएको बताउनुभयो । “अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि शिला अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले बताउनुभयो । रासस

Related News

सम्बन्धित समाचार

hero news full width