पोखरा । गण्डकी प्रदेशले पूर्ण मन्त्रिमण्डल पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार थप ३ मन्त्री नियुक्त गर्दै आफ्नो क्याबिनेट पूर्ण बनाएका हुन् । यहाँ नेकपा (एमाले) बाट ४, माओवादी केन्द्रबाट २ र राप्रपाका १ सांसद मन्त्री बनेका छन् । मुख्यमन्त्री बाहेक एमालेबाट सीताकुमारी सुन्दास आर्थिक मामिला मन्त्री बनेकी छिन् । यस्तै, रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्दा वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री बने ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान दोस्रो वरियतासहित भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्री बन्दा रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सम्हाले । मन्त्री रोशन, वेद र रेशमले मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको सपथ लिए ।
यसअघि १२ मन्त्रालय रहेको यहाँ घटाएर २०७४ कै अवस्थामा झारिएको हो । ७ मन्त्रालय कायम भएका कारण दलहरुलाई मन्त्री टुंग्याउन निकै सकस भएको थियो । मुख्यमन्त्री अधिकारीले पनि एमालेबाट मन्त्री बन्नेहरुको सूची काठमाडौं पुगेर बनाएको बताइएको छ । पार्टी अध्यक्ष केपी ओली भेट्न सोमबार काठमाडौं गएका मुख्यमन्त्री अधिकारी मंगलबार फर्केर रोशन र वेदलाई मन्त्री बनाउने निर्णयमा पुगेका हुन् ।
रोशनलाई झुक्याइयो !
मुख्यमन्त्री खगराज अधिकारीले विस्वासको मत लिनुअघि रोशनबहादुर गाहा थापालाई प्रमुख सचेतक बनाएका थिए । तर रोशन आफू मन्त्री बन्नेमा विश्वस्त थिए । मंगलबार दिउँसो पनि मुख्यमन्त्रीले उनलाई कार्यकक्षमा बोलाएर अर्थमन्त्रीकै जिम्मा दिने निर्णय भएको बताएका थिए । ‘अर्थमन्त्रीमा उहाँको नाम कम्प्युटरमा चढाएको पक्का हो । सपथ ग्रहणका बेलामा पनि मन्त्रालयको जिम्मेवारी नसुनाई नाममात्रै बोलाइयो,’ एक मन्त्री भन्छन्, ‘अर्थमन्त्री नै हो भनेर उहाँ सपथ लिन जानु भएको थियो ।
सपथ सकिएपछि जिम्मेवारीको पत्र पढेर सुनाउँदा पो अनौठो सुनियो ।’ वरियतामा पाँचौंमा पुगे उनी । त्यतिमात्रै होइन, अर्थबाट आन्तरिक मामिला मन्त्रालयमा सीमित भए ।
मुख्यमन्त्री अधिकारीले अर्थ मन्त्रालय आफैले राख्न चाहेका थिए । प्रदेश सभामा निर्वाचित २२ सांसदमध्ये मुख्यमन्त्रीको सबैभन्दा विश्वासपात्र बेदबहादुर गुरुङपछि सीताकुमारी सुन्दास नै हुन् । गण्डकीको पार्टी राजनीतिमा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र वर्तमान मुख्यमन्त्री अधिकारीबीचको रस्साकस्सी त्यति धेरै नौलो होइन । पोखरको मेयरमा कृष्णबहादुर थापा पराजीत हुँदा त यसलाई अधिकारी पक्षले पृथ्वीसुब्बा गुरुङसँग जोडेर गतिलै इस्यु बनाइएको थियो ।
अहिले मुख्यमन्त्री अधिकारीको यो कदमलाई पनि त्यही रस्साकस्सीसँग जोडिएको छ । मुख्यमन्त्री अधिकारी बढी आफ्नै गुटमा केन्द्रित भएको विश्लेषण गर्न थालिएको छ । एमालेको प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘मुख्यमन्त्रीज्यूले घेरा साँघुरो बनाउँदै जानुभयो, यसबाट पर्ने असर आखिर भोलि देखिहाल्छ ।’
अरुलाई जिल्याइयो
मुख्यमन्त्रीसहित १ मन्त्री कास्की जिल्लाले पाएको छ । स्याङ्जाबाट पनि २ जना मन्त्री बनेका छन् । बढी प्रभावशाली मानिएका मन्त्रालय कास्की र स्याङ्जाले पायो । ७ मन्त्रालय रहेको गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी र कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ कास्की क्षेत्र १ का हुन् । अधिकारी (क) बाट चुनाव जितेर आएका हुन् भने गुरुङले (ख) बाट चुनाव जितेका थिए ।
स्याङ्जा १ (क) बाट चुनाव जितेकी सीता सुन्दास अर्थ मन्त्री बनिन् । सोही क्षेत्रका पञ्चराम गुरुङ राप्रपाबाट मन्त्री बनेका छन् । उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए । दुई क्षेत्रबाट ४ मन्त्री बन्दा भूगोलको प्रतिनिधित्वमा भने पार्टीहरुले ख्याल गरेनन् । कास्की र बागलुङबाट ११÷११ प्रदेश सांसद छन् । ११ सांसदसहित कास्कीले २ मन्त्री पाउँदा बागलुङमा भने मन्त्री छैनन् । बागलुङका लीलाबहादुर थापा मन्त्री बन्ने चर्चा चुलिएको थियो । तर अन्तिममा उनी अधिकारी क्याबिनेटमा अटाएनन् । थापा पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । एमालेबाट मन्त्री बनेका ४ मध्ये ३ जना खगराजनिकटका हुन् ।
बागलुङले मन्त्री पाउनुपर्नेमा गुटको असर देखिएको एक नेताले बताए । ‘जति हक कास्कीको छ, उत्ति बागलुङको पनि छ । बागलुङमा केन्द्रीय नेता पनि छन्, प्रभाव भएका पनि छन्,’ उनले भने, ‘जबर्जस्ती गुटमा धकेलेर राम्रा मान्छेलाई पछि पारियो । यो अन्याय हो ।’ रोशनलाई पनि मन्त्री नबनाउने तयारीका साथ प्रमुख सचेतक बनाइएको थियो । तर चौतर्फी दबाबपछि उनी मन्त्री बनेका हुन् । बागलुङका सांसद थापाले दलभित्र छलफल नगरी मन्त्रीको टुंगो लगाएको गुनासो गरे । ‘पार्टीमा आकाशबाट निर्णय हुन्छ । हामीसँग कुनै छलफल भएको छैन । यसबारे दलको बैठकमा सोध्छौं, हामी,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९