पोखरा । गण्डकी प्रदेशको मन्त्रीपरिषद् बैठक सोमबार बिहान साढे ९ बजे बसेर मन्त्रालयको संख्या ७ कायम गर्ने निर्णय ग¥यो । पुस २५ मा सपथ लिए पनि जिम्मेवारी नपाएका ३ मन्त्रीहरु सोमबार साँझसम्म जिम्मेवारी पाउनेमा ढुक्क थिए । मन्त्रिपरिषद्लाई पूर्णता चर्चा चलेकाले प्रदेश प्रमुखको कार्यालयका कर्मचारी सपथ कार्यक्रमका लागि तयारी हालतमा थिए ।
तर मुख्यमन्त्री खगराज अधिकारी सोमबारै काठमाडौं लागे । सबैको अनुमान फेल खायो । ‘आज निर्णय गर्ने कुरा थियो । मुख्यमन्त्री अचानक काठमाडौं हिड्नुभयो,’ मन्त्री पञ्चराम गुरुङले भने, ‘अब उहाँ नफर्केसम्म प्रक्रिया अघि बढ्दैन । सम्भवतः मंलबार निचोड निस्किन्छ होला ।’
गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री रहने पक्का भएको छ । यद्यपि माओवादीले कम्तीमा ३ मन्त्रालयमा दाबी गरेको छ । ७ मध्ये ४ मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । एमालेबाट मुख्यमन्त्री अधिकारीसहित सीताकुमारी सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बनेका हुन् ।
एमालेले बागलुङका लिलबहादुर थापा र नवलपुरका रोशन गाहा थापालाई मन्त्री बनाउने सम्भावना प्रबल छ । तर रोशन संसदीय दलको प्रमुख सचेतक बनेका कारण उनको सट्टा अर्को नाम खोजी हुने बताइएको छ । मुख्यमन्त्री अधिकारी मन्त्रीको नाम टुंग्याउन काठमाडौं गएको र सोमबार साँझ नै बालकोटमा अध्यक्ष केपी ओलीलाई भेट्ने सचिवालय स्रोतले बताएको छ ।
माओवादीले म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको छ । संसदीय दलले सोमबार यो निर्णय गरेको माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले बताइन् । दलहरुबीच मन्त्रालय विभाजनमा सामान्य छलफल भएपछि मंगलबार मात्रै निर्णय हुने बताइएको छ ।
सरकारले प्रदेशमा हाल रहेका १२ मन्त्रालय घटाएर ७ मा झारेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । केन्द्रीय शीर्ष नेतृत्वले दिएको निर्देशन अनुसार सांसद संख्याको १० प्रतिशत सीमाभित्रै रहने गरी मन्त्रालयको टुंगो लगाइएको बिना विभागीय मन्त्री एव सरकारका प्रवक्ता सीताकुमारी सुन्दासले बताइन् ।
गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहने छन् । यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलश्रोत मन्त्रालय कायम गरिएको छ । मुख्यमन्त्री कार्यालयले बैठक, प्रशासन र शासकीय सुधारका क्षेत्रमा काम गर्नेछ । आर्थिक मामिला मन्त्रालयले अर्थसँगै सहकारी तथा गरिवी निवारण र भूमि व्यवस्थाको जिम्मेवारी लिनेछ । भौतिकमा सहरी विकास र यातायातको क्षेत्र जोडिएको छ ।
सबैभन्दा बढी कार्यक्षेत्र सामाजिक तथा स्वास्थ्य मन्त्रालयमा छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, श्रम, रोजगार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा, खेलकुद, स्वास्थ्य र जनसंख्याका क्षेत्रमा उक्त मन्त्रालयले काम गर्ने छ । पर्यटन, उद्योग, वाणिज्य, आपुर्ति, वन, वातावरण र भूसंरक्षणको काम एउटै मन्त्रालयले गर्ने छ । यसअघि कृषि मन्त्रालय भन्दा बाहिर रहेको जलस्रोत अहिले कृषिमा जोडिएको छ । कृषि तथा पशुपन्छी, ऊर्जा, सिँचाईं र खानेपानीको काम एउटै मन्त्रालयले गर्ने छ ।
सबै मन्त्रालयलाई उस्तै जिम्मेवारी पर्ने गरी विभाजन गरिएको बताइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले बिना सकस सर्वसम्मतरुपमा ७ मन्त्रालय बनाउने निर्णय गरेको बताए । ‘हिजोको आवश्यकता र औचित्य के थियो मैले भन्ने कुरा भएन । १२ मन्त्रालय बनेको कुरा हिजोको विषय हो । अहिले तीनवटै दल ७ मन्त्रालय बनाउन सहमत भयौं । छलफल पछि टुंगो लागेको हो,’ उनले भने, ‘झ्याल झ्यालमा मन्त्रालय भएको जनताले रुचाएका थिएनन् । त्यसकारण हामीले घटाएका हौं ।’
मन्त्रालय घटाउने निर्णय गरेपछि मुख्यमन्त्री अधिकारी मन्त्रीको नाम टुंग्याउन काठमाडौं पुगेका छन्
अधिकारीले मन्त्रालयको बाँडफाँटमा कुनै चासो नदिएको बताए । ‘भार पारेर बजेट झर्ने भन्दा १ एक चरण पुराना योजनालाई सम्पन्न गर्ने र बल्ल नव प्रवर्तनका लागि सोच्ने लयमा छौं । हामीले कुन मन्त्रालय कसले पाउने भन्ने चासो दिएका छैनौं,’ अघि भन्छन्, ‘यो सरकारले पूरा नहुने र चीप पपुलारिटीका लागि कुनै काम गर्दैन । गर्नैपर्ने काम गर्छ ।’ उनले रुग्ण र पूरा नहुने योजनाबारे पुनर्विचार गर्ने बताएका छन् । ‘आर्थिक अनुशासन, नियम, वित्तीय सन्तुलन बिग्रिने खालको योजना भए छलफल गरेर निर्णयमा पुग्छौं । तर क्रमागत योजना पूरा गर्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।
पुस २५ गते एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद सहितको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सुरुमा उनलाई स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समर्थन दिए पनि विश्वासको मत भने दिएनन् । गण्डकीमा सभामुख माओवादीले पाएको छ भने उपसभामुख एमालेले पाएको छ । ५ वर्ष नै सरकारको नेतृत्व एमाले र संसदको नेतृत्व माओवादीले गर्ने केन्द्रीय निर्णय छ । माओवादीले भने साढे २ वर्षपछि मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९