विष्णुलाई सिद्धि–सेतुली र शोभालाई सानिमा पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ ८, २०७९
Siddhi Setuli 2

पोखरा । समाजसेवी एवं सामाजिक अभियन्ता विष्णु श्रेष्ठलाई २०७९ सालको सिद्धि–सेतुली स्मृति पुरस्कार प्रदान गरिएको छ । यस्तै, नेत्रविहीन शिक्षिका तथा समाजसेवी शोभा पौडेललाई सानिमा स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।

दिवंगत आमा सेतुलीमाया शाक्यको १६ औं वार्षिक पुण्यस्मृति तथा सानिमाको पाँचौं पुण्यस्मृतिमा शनिबार सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले ती पुरस्कार अर्पण गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षत्रीले उनीहरुलाई दोसल्ला, सम्मानपत्र र जनही १५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।

पुरस्कृत व्यक्तित्व श्रेष्ठ केही दशकदेखि बालशिक्षा तथा सचेतना कार्यक्रमका अतिरिक्त विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई आपदविपदमा परेका र कमजोर आर्थिक अवस्थाका श्रमजीवीको सहयोग तथा महिला सशक्तीकरणका लागि काम गर्दै आएकी छन् । मानवअधिकारका लागि एकल महिला समूह सचिवसमेत रहेकी उनी चितवनमा जन्मिएर हाल पोखरा चाउथेमा बस्दै आएकी छन् ।

नेत्रहीन भएर पनि लामो समयदेखि शैक्षिक सेवामा संलग्न रही अपांगता भएकाहरुको सशक्तीकरणमा समेत भूमिका खेलेकोमा सानिमा पुरस्कारबाट पौडेललाई सम्मानित गरिएको हो । शिक्षण पेसामा संलग्न पोखरा भलामकी उनी हाल पोखरा १ बस्दै आएकी छन् ।

कार्यक्रममा प्रतिष्ठान पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य भूपनिधि पन्त, विशिष्ट सदस्य प्रेमराज अधिकारी, संस्थापक संरक्षक शान्तमाया शाक्य, आजीवन सदस्य ईश्वरलाल हिराचन, विशिष्ट सदस्यहरु ओमकुमारी थापा, क्या. मनबहादुर गुरुङ र क्षेत्रलाल कायस्थलाई ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो । सो अवसरमा प्रतिष्ठानतर्फबाट १५ जनालाई विशिष्ट सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्व गभर्नर डा. क्षत्रीले स्वार्थ र पैसाका लागि समाजमा भ्रष्टाचार बढेको राजनीतिक क्षेत्रका व्यक्तित्वमा खुट्टा तान्ने प्रवृत्ति हुनु दुर्भाग्य भएको बताए । म र परिवार भन्ने भावना समाजमा विकास हुनु राम्रो नभएको बताउँदै उनले समाजका विकृति र गलत परम्परा सुधार गर्दै जानुपर्ने भनाइ राखे । देशले उत्पादनमा जोड गर्नुपर्ने बताउँदै उनले जनै र गुन्द्रुकजस्ता बस्तुसमेत विदेशबाट आयात हुनु राम्रो पक्ष नभएको बताए ।

उनीहरुलाई दोसल्ला, सम्मानपत्र र जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो

कार्यक्रममा अध्यक्षको आसनबाट प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद बास्तोलाले एकल महिला र अपांगता भएका व्यक्तित्वलाई समेत प्रतिष्ठानले सम्झने गरेको स्मरण गराउँदै कार्यक्रममा उपस्थिति सबैप्रति धन्यवाद प्रकट गरे ।

२०६४ सालमा स्थापित प्रतिष्ठानबारे जानकारी दिंदै संस्थापक संरक्षक विश्वरत्न शाक्यले संस्थाले १२ वर्षदेखि बालशिक्षा कार्यक्रमलाई अघि सारेर असहाय बालबालिकाको शैक्षिक जागरणमा सहयोग जुटाउने कार्य गर्दै आएको बताए । असहाय तथा जेहेनदार विद्यार्थीका लागि पूर्व प्राथमिकदेखि १२ कक्षासम्म शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरणमा २८ लाख रुपैयाँ सहयोग जुटाइसकेको उनले जानकारी दिए । महिला जागरण, ज्येष्ठ नागरिक र बालबालिकाको क्षेत्रका अतिरिक्त संस्थाले २०७४ सालबाट अपांगता भएका व्यक्तित्वलाई समेत समेट्दै आएको छ । प्रतिवर्ष २५ जना बहिरा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । १ करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यका साथ अगाडि बढेको प्रतिष्ठानमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष छ ।

पुरस्कृत व्यक्तित्व विष्णु श्रेष्ठले सकारात्मक सोचका साथ कर्म गरेर मानव समुदायको भलाइमा लाग्नुपर्ने भनाइ राखिन् । अर्की पुरस्कृत व्यक्तित्व शोभा पौडेलले मानवले मानवलाई मानव भएर चिन्न आग्रह गर्दै अपांगलाई पनि प्रतिष्ठानले सम्झिएकोमा आभार प्रकट गरिन् ।

प्रतिष्ठान उपाध्यक्ष हनिफ मियाँले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य भूपनिधि पन्त, पोखरा ९ कि वडा सदस्य लक्ष्मी पहारी र पुरस्कार छनोट समिति संयोजक लोकदर्शन कोइरालाले पनि भनाइ राखेका थिए । कार्यक्रम संचालन प्रतिष्ठान सचिव इन्द्रकमल मानन्धरले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width