पुछारसिटे अभियानमा सरस्वती श्रेष्ठ सरूका कवितावाचन

आदर्श समाज सम्वाददाता
माघ ३, २०७९
Puchharsitma saraswatis

पोखरा । माघे संक्रान्तिको बिहान । पोखरेली साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू भेला भएका देखिए । माघ महिनाको बिहानी, वातावरण चिसो थियो । घामका सुनौला किरणले उपस्थितका अनुहारमा स्पर्श गरिरहेका थिए । बिस्तारै उपस्थिति बाक्लिँदै गयो । माहोल न्यानो बन्दै गयो । प्राज्ञ हरिदेवी कोइराला, बिम्बकवि रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल लगायत व्यक्तित्व भेला भए ।

केही छिनमा देखिए आख्यानकार गनेस पौडेल, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेलहरू । दीपक समीप, लक्ष्मण थापा, वसन्त गौतम, चैतन्य अधिकारी, शरण आँसु, जीवनसागर भण्डारी, भीम रानाभाट आदि गफिन थाले । आयोजकहरू भने माघे संक्राान्तिका परिकारहरू व्यवस्थित गर्नमै व्यस्त देखिन्थे । एकैछिनमा चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरा टेबलमा सजाइएका देखिए । एकाएक सबै लामबद्ध भए । हरेकले आफ्नो रुचिअनुसारका परिकार प्लेटमा राख्दै गए । कोही उठ्दै त कोही कुर्सीमा बसेर माघे संक्रान्तिका अवसरमा खाइने खानेकुराको स्वाद लिए ।

सन्दर्भ थियो, पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचन । कार्यक्रमको नाम राखिएको थियो, ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको छैटौं शृखलामा कवितावाचकका रूपमा उभिएकी थिइन् पोखरेली कवयित्री सरस्वती श्रेष्ठ सरू ।

केही समयपछि पुछारसिटे अभियानका अभियन्ता अल्पज्ञानी मञ्चमा देखिए । उनले कार्यक्रमको दैलो उघारे । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराए उनले उपस्थितहरूलाई । उनले पुछारसिटे अभियानले असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घिउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेको कुरा सुनाए ।

अभियन्ता अम्बिका ओझाले स्वागत गरेपछि मञ्चमा बोलाइए जीवनसागर भण्डारी । उनले कवि सरस्वतीका बारेमा परिचय प्रस्तुत गरेपछि उनैले कविलाई स्टेजमा आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आएकी कविलाई अभियानका संयोजक सञ्जीव पौडेलले सयपत्रीको माला लगाएर स्वागत र सम्मान गरे । अनि सुरु भयो कविता वाचनः
जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथि आसन जमाउँछ

मौन भाषामा भनेझैं लाग्छ
‘आमा मै हुँ तिम्रो कविता …’

‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी उनले डेढ दर्जन कविता प्रस्तुत गरिन् । सरूले कवितावाचनको अन्तिम अन्तिम चरणमा सुप्रसिद्ध लोकगायिका एव प्राज्ञ हरिदेवी कोइरालालाई उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखिदिन आग्रह पनि गरिन् ।

कार्यक्रममा सहयोगी र कवि सरस्वती श्रेष्ठ सरूलाई समेत आयोजकका तर्फबाट सल्लाहकार लक्ष्मण थापा र प्राज्ञ हरिदेवी कोइरालाले संयुक्त रूपमा मायाको चिनो प्रदान गरेका थिए । करिब डेढ घन्टा कविता सुनिसकेपछि पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरे ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width