पोखरा । माघे सङ्क्रान्तिको बिहान । पोखरेली साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू, लब्धप्रतिष्ठित व्यक्तित्वहरू जिरो किलोमिटरमा रहेको दुरान रेष्टुरेन्टमा भेला भएका देखिए । माघ महिनाको बिहानीको समय । वातावरण चिसो थियो । घामका सुनौला किरणले उपस्थितका अनुहारमा स्पर्श गरिरहेका थिए । बिस्तारै उपस्थिति बाक्लिँदै गयो । माहोल न्यानो बन्दै गयो । प्राज्ञ हरिदेवी कोइराला, बिम्बकवि रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल लगायतका व्यक्तित्वहरू भेला भए । केही छिनमा देखिए आख्यानकार गनेस पौडेल, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेलहरू । दीपक समीप, लक्ष्मण थापा, वसन्त गौतम, चैतन्य अधिकारी, शरण आँसु, जीवनसागर भण्डारी, भीम रानाभाट आदि गफिन थाले । आयोजकहरू भने माघे सङ्क्रान्तिका परिकारहरू व्यवस्थित गर्नमै व्यस्त देखिन्थे । एकैछिनमा चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरा टेबलमा सजाइएका देखिए । एकाएक सबै लामबद्ध भए । हरेकले आफ्नो रुचिअनुसारका परिकार प्लेटमा राख्दै गए । कोही उठ्दै त कोही कुर्सीमा बसेर माघे सङ्क्रान्तिका अवसरमा खाइने खानेकुराको स्वाद लिए ।
सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचन । कार्यक्रमको नाम राखिएको थियो – ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उभिएकी थिइन् पोखरेली कवि सरस्वती श्रेष्ठ सरू ।
केही समयपछि पुछारसिटे अभियानका अभियन्ता अल्पज्ञानी मञ्चमा देखिए । उनले कार्यक्रमको दैलो उघारे । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराए उनले उपस्थितहरूलाई । सो क्रममा उनले पुछारसिटे अभियानले असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घिउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेको कुरा सुनाए । साथै संस्थाले विभिन्न सामाजिक, शैक्षिक एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आइरहेको पनि जानकारी दिए ।
ले । अर्की अभियन्ता अम्बिका ओझाले उपस्थित सबैलाई आयोजकका तर्फबाट स्वागत गरेपछि मञ्चमा बोलाइए जीवनसागर भण्डारी । उनले कवि सरस्वतीका बारेमा परिचय प्रस्तुत गरेपछि उनैले कविलाई स्टेजमा आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आएकी कविलाई अभियानका संयोजक सञ्जीव पौडेलले सयपत्रीको माला लगाएर स्वागत र सम्मान गरे । अनि सुरु भयो कविता वाचन ।
जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथि आसन जमाउँछ
र
मौन भाषामा भनेझैँ लाग्छ
“आमा मै हुँ तिम्रो कविता …”
‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी उनले बिचबिचमा आफ्नो कविता लेखन यात्रा, जीवनका उहापोह, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति जोड्दै पनि गइन् । कविता र अनुभवको प्रस्तुति सुन्दर ढङ्गले बुनेकी उनले बिचमा आफ्ना कविता राख्न केही समयको फरकमा पोखराकै दुई कविलाई डाकिन् । दुवै कविहरू उनीभन्दा अनुज भएर पनि फरक पुस्ताको प्रतिनिधित्व गराउँदै उनले कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनालाई आफ्ना एक एक थान कविता वाचन गर्न दिइन् । करिब डेढ दर्जन कविता प्रस्तुत गरेकी सरूले कविताको अन्तिम अन्तिम चरणमा सुप्रसिद्ध लोकगायिका एवम् प्राज्ञ हरिदेवी कोइरालालाई उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखिदिन आग्रह पनि गरिन् । कविता प्रस्तुतिका बिचबिचमा कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वलार्य पालैपालो सम्झन पनि उनले छुटाइनन् । उनले ‘म’ शीर्षकको कविता यसरी सुनाइन् –
तिमी बिहानै बिहानै
नहल्लाउनू दूबोको पात ।
ए हावा !
सुस्तरी छुनू फूलका पत्रहरूमा
सुस्तरी चाल्नू पाइलाहरू
म ढल्पलाउन सक्छु
पोखिन सक्छु ।
नानीहरू नरुनू पुतली च्यात्तिएको दुःखमा
आमाहरू नरुनू सन्तान परदेशिएको वियोगमा
म झर्न सक्छु आँखाको डिलबाट ।
चराहरू सुस्तरी चिरबिराउनू
आवाजले झस्किएर म पोखिन सक्छु
नठोकिनू पत्थरले पनि
मनको घडामा
म छचल्किन सक्छु
ठोकिनै परे फूल भएर ठोकिनू ।
सुस्तरी उघार्नू ढोका
धक्का नदिनू मलाई
म आज तरल भएकी छु
शीत, आँसु या यस्तै केही भएकी छु ।
यस्तै यस्तै करिब डेढ दर्जन कविता सुनाइसकेपछि अन्तिम कविता राख्नुभन्दा अगाडि कार्यक्रममा सहयोग गर्ने सहयोगीहरू र कवि सरस्वती श्रेष्ठ सरूलाई समेत आयोजकका तर्फबाट सल्लाहकार लक्ष्मण थापा र प्राज्ञ हरिदेवी कोइरालाले संयुक्त रूपमा मायाको चिनो प्रदान गरिएको थियो । करिब डेढ घन्टा कविता सुनिसकेपछि पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरे ।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१