पोखरा फाइनान्सको ४.२१ प्रतिशत लाभांश पारित

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
pokhara finance

पोखरा । पोखरा फाइनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभाले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ०.२१ प्रतिशतका दरले नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी १.०८ अर्ब पुगेको छ ।

सभाले आगामी ४ वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेकोमा सञ्चालक समितिको बैठकले डा.दीर्घमानलाई अध्यक्ष नियुक्ति गरेको छ ।

आव २०७९÷८० को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक, वित्तीय संस्था एकापसमा गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानुनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्नसमेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जनाए ।

पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तररुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width