जातीय विभेद आरोपमा पक्राउ परेका वडाध्यक्षको विषयले पोखराको १२ औं नगरसभा स्थगित

आदर्श समाज सम्वाददाता
पौष २७, २०७९
Pokhara Nagar Sava Photo

पोखरा। नेपाली कांग्रेसका कार्यपालिका सदस्यले बहिष्कार गरेसँगै मंगलबार पोखरा महानगरको १२ औं नगरसभा स्थगित भएको छ ।
जातीय विभेद आरोपमा पक्राउ परेका वडाध्यक्षलाई कारबाही गर्नुपर्ने आवाज पोखरा महानगरपालिकाको नगर सभामा उठेपछि विवाद सुरु भएको हो । पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीमाथि जातीय विभेदको आरोप छ । कांग्रेसबाट वडाध्यक्ष निर्वाचित उनले सोमबार बिहान प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै यो विषय अदालत छिरेको छ । एमालेका दलित समुदायका जनप्रतिनिधिले नगरसभाको कार्यसूचीमै नभएको विषय झिकेपछि विवाद सिर्जना सुरु भएको हो ।

पोखरा सभागृहमा नगरसभा उद्घाटनपछि बन्दसत्र सुरु हुनुअघि नै एमालेका दलित समुदायका जनप्रतिनिधि उठेर समय माग गरेका थिए । उनीहरूको हातमा कालोपट्टी थियो । उपमेयर मञ्जुदेवी गुरुङले बोल्न समय दिएपछि कार्यपालिका सदस्य एमालेका दीपक घिमिरे विश्वकर्मा मञ्च उक्लिए । उनले जातीय विभेदका आरोपित वडाध्यक्ष अधिकारीलाई कारबाही माग गर्दै मेयरसमक्ष ध्यानाकर्षणपत्र बुझाए ।

त्यसलगत्तै कांग्रेसका जनप्रतिनिधि एमालेका नजप्रतिनिधिले कार्यसूचीमा नभएको विषय झिकेको भन्दै बाहिरियो । नगर प्रमुख धनराज आचार्यले कांग्रेस दल नेतालाई बोल्न समय दिए । उनीहरु हलभित्र गएनन् । केहीबेरपछि नगरप्रमुख आचार्यले कांग्रेस जनप्रतिनिधि उपस्थित नभए पनि मुख्यमन्त्रीलाई बोल्न समय दिएर सभा अघि बढाए । त्यसपछि १ घण्टाका लागि सभा स्थगित गरियो ।

त्यसअघि नगरसभामा कांग्रेस दल नेतालाई बोल्न समय दियो । कांग्रेस दल नेता दिवशमान प्रधानांगले नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई कालोपट्टी देखाएर अपमान भएको बताए । ‘राजनैतिकरुपमा मतभिन्नता होला । तर, हामीले हाम्रै जिल्लाको मुख्यमन्त्री पाएका छौं,’ उनले भने, ‘उनै मुख्यमन्त्रीलाई प्रमुख अतिथि रहेको कार्यक्रममा कालोपट्टि देखाएर उहाँको अपमान गरिएको छ । यसको हामी घोरआपत्ति र खेद व्यक्त गर्दछौं ।’ उनले सभामा बोल्ने सदस्यलाई कारबाहीको माग गर्दै सभा बहिष्कार गर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन गरे अनि निस्किए ।

कांग्रेस जनप्रतिनिधि बाहिरिएपछि मेयर–उपमेयर अलमलमा देखिए । त्यसपछि एमाले दल नेता राधिका शाही योगीले बोल्न समय मागिन् । उनले दलले नभई असन्तुष्टि भएका विषयमा व्यक्तिगत रूपमा नगरसभाको ध्यानाकर्षण गराइएको बताइन् । ‘नेकपा एमालेको दलबाट मुख्यमन्त्रीलाई कालोझण्डा, प्ले–कार्ड देखाउने भएको होइन । तर अन्याय कसैलाई हुनु हुन्न,’ उनले भनिन्, ‘नगरसभा स्थगित भनेर राखेको मागको औचित्य छैन । नगरसभामा ध्यानाकर्षण भएको छ । तर, दलगत रूपमा होइन ।’ दुवै दलका नेता बोलिसकेपछि नगर प्रमुख धनराज आचार्यले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि नगर सभा स्थगित भएको घोषणा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width