कलाकार रञ्जितको पोखरा प्रेम

आदर्श समाज सम्वाददाता
पौष २४, २०७९
Krishna Gopal Ranjit News Photo

पोखरा । पोखरा १० बुद्धचोकको कान्तिपुर पार्टी प्यालेसमा कलाकार कृष्णगोपाल रञ्जित निकै उल्लासका साथ बसिरहेका थिए । उनका वरिपरि थिए, गुरु अनि साथी र अग्रज मान्ने दुर्गा बराल ‘वात्स्यायन’, कविद्वय तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, शिक्षासेवी जर्ज जोन, कलाकार सुनील सिग्ेदल लगायत आफन्तहरु । रञ्जित आफ्नो ९१ औं जन्मोत्सव मनाउन त्यसरी घेरिएर बसेका थिए ।

काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सव अवसरमा जन्मभूमि पोखरा आएका हुन् । त्यही अवसरमा उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई दीर्घायुको कामनासहित जन्मोत्सव मनाउने चाँजो मिलाएका थिए ।

कलाकार रञ्जितले शुभकामना साट्दै गर्दा आफ्ना विगत सम्झन थाले । शिक्षासेवी जर्ज जोनसँग २०१० को दशकमा काठमाडौंमा भेटेको र सँगै एउटै इन्स्टिच्युटमा काम गरेको सम्झना गरे । कमर्सियल आर्टिस्ट रञ्जितले आफ्नो कलाको प्रेरणा स्रोत प्रकृति भएको सुनाए । सानै उमेरमा काठमाडौंमा गएका उनले आफूले पढ्न भने नपाएको बताए । ‘पढ्न पाइएन अनि फुर्सदमा कोर्दाकोर्दै कलाकार भइएछ ।’ उनले २८ वर्ष नेपाल वायुसेवा निगममा सेवा गरेका थिए । वायुसेवा निगमको लोगो आकाश भैरव रंगाउने कलाकार उनै हुन् ।

उनी साइनबोर्ड र होर्डिङ बोर्डको संस्कृति नेपालमा आफूले भित्र्याएको पनि सम्झना गर्छन् । ९१ वर्षमा छँदा पनि अझै फूर्तिला कलाकार रञ्जित अचेलका दिन पनि कला कोरेर बिताउँछन् । ठट्यौला स्वभावका कलाकार रञ्जितले भन्छन्, ‘सय वर्ष बाँच्ने हो, त्यतिखेर पनि पोखरा आउँछु है ।’

Related News

सम्बन्धित समाचार

hero news full width