हार्मोनीमा दीपानारायण झा

आदर्श समाज सम्वाददाता
पौष २१, २०७९
harmony

पोखरा । पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो संस्करणको सांगीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने यो कार्यक्रमको विशेष आकर्षणकारुपमा गायिका दीपानारायण झा रहनेछन् । हार्मोनीले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो संस्करणको कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ ।

सदावहार गायिका झाले हार्मोनी पोखराको यो सांगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठूलो अर्थ राख्नेछ,’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन्, ‘समग्र पोखराका लागि पनि यो सांगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौं ।’ दीपानारायण झासँग स्टेज सेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने सांगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज सेयर गर्दै प्रस्तुती दिनेछन् ।

कार्यक्रममा विशेष सहयोगी गायकका रुपमा रामभक्त जोजिजु, विनोद बानिया, सन्तोष बस्याल, ज्ञान थापा र मीलन तमुको प्रस्तुती रहने छ ।

दीपानारायण झाले गाएका कुसुमे रुमाल, चिया बारीमा, इशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगायत दर्जनौं गीत कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ ।

खासगरी सांगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिति देखाउन हार्मोनी पोखराको स्थापना भएको हो । संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’, ‘टेस्ट अफ हार्मोनी’ र ‘धुनहरुमा तारादेवी र अरुणा लामा’ गरी संस्थाले ३ वटा संस्करणका विशेष सांगीतिक कार्यक्रम गरिसकेको छ ।
गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था क्रियाशील छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै