माघ ८ देखि पोखरामा तेस्रो टाइगर कप भलिबल, दुई बिदेशी क्लबसहित १० टिमको सहभागिता

आदर्श समाज सम्वाददाता
पौष १९, २०७९
Tiger Cup News Photo

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा माघको दास्रो साता तेस्रो टाइगर कप भलिबल हुने भएको छ ।
आगामी माघ ८ देखि १४ गतेसम्म ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने पोखरामा सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

पोखरामा रंगशालामा हुने प्रतियोगितामा दुई बिदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जनाएका बताए ।

शर्माका अनुसार राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।

यस्तै महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।

तेस्रो संस्करणमा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला÷पुरुष दुवैतर्फ उपाधी विजेता टिमले ५/५ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए । उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार रुपैयाँ र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले बताए । प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।

भलिबल खेल विकासका लागि टाइगर ग्रुप अफ पोखरा नेपाल प्रतियोगिता आयोजना गरेको अध्यक्ष शर्माले जानकारी दिए । ‘पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल पहिलो र दोस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेका छौं, शर्माले भने, ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीको बीचमा तेस्रो संस्करण माघ ८ देखि १४ गतेसम्म सञ्चालन गदैं छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width