गण्डकी प्रदेशमा १५ गतेभित्रै संसद बैठक, त्यसपछि सरकार गठन प्रक्रिया

आदर्श समाज सम्वाददाता
पौष ५, २०७९
Gandaki Pradesh Sabha parle

पोखरा । निर्वाचनको १ महिना पूरा भएको छ । निर्वाचन आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको छ । २८ मंसिरमा निर्वाचनका सबै नतिजा सार्वजनिक भैसकेका छन् । नतिजा सार्वजनिक भएसँगै सांसदको सपथ ग्रहण, संसद बैठक र सरकार गठनका प्रक्रिया खुला भएका छन् । प्रदेश प्रमुख निकट श्रोतका अनुसार १४ गतेभित्रै सपथ गराउने र लगत्तै संसद बैठकको आह्वान हुने छ । ‘निर्णय भएको छैन । केही दिनमा टुंगो लाग्छ । १४ गतेभित्रै सपथ गराउने तयारी छ,’ उनले भने, ‘पहिला सपथ अनि सरकार गठनको आह्वान गर्ने कुरा छ । सम्भवतः त्यही हुन्छ होला ।’ यसैका लागि प्रदेश प्रमुख गुरुङले सरकार र संसद सचिवालयका जानकारसँग पनि परामर्श लिएका छन् । ‘सचिवालयले तयारी सकिएको रिपोर्टिङ गरेको छ ।

संसद सचिवालयले सांसदहरुलाई लोगो सहित सपथको तयारी गरेको छ । उनीहरुका लागि यसअघि नै लोगो खरिद गरिएको छ । ‘१५ गतेसम्म अधिवेसन आह्वान हुन्छ भनेर तयारी अवस्थामा रहन निर्देशन आएको छ । हामीले सरसफाईको काम सक्यौं । सबै हिसावले तयार छौं,’ सचिवालयका कर्मचारी झनक अधिकारीले भने, ‘सचिवालय रेडि अवस्थामा छ ।’ सचिवालयले नयाँ सांसदलाई संविधान, प्रदेश सभाबाट हालसम्म बनेका कानुनको किताव र अहिलेसम्मको प्रगति समिक्षा दिने तयारी गरेको छ ।
संसदीय दलको कार्यालय पूरानै प्रयोग गरिने उनले सुनाए । ‘कांग्रेस, एमाले र माओवादीको कार्यालय पूरानै छ । पहिले जनमोर्चाको कार्यालयमा अहिले राप्रपा रहन्छ,’ उनले भने, ‘१ सीट रहेको दलले पनि कार्यालय मागे कोठा दिन सकिन्छ ।’ प्रदेश सभा नियमावली अनुसार २ सीट भन्दा कम भएको दललाई दलको मान्यता र सुविधा दिएको छैन । प्रतिनिधि सभाका सांसदहरुलाई यही ७ गते सपथ गराउने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरेपछि सपथ अघि नै सरकार गठन गलत हुने भन्दै आलोचना भएको थियो । गण्डकीमा भने सपथ पछि नै सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार मुख्य न्यायधिबक्तासँग परामर्श लिएका थिए भने सोमबार संसद सचिवलाई बोलाएका थिए । परामर्शका क्रममा उनीहरुले सपथपछि नै सरकार गठनको प्रक्रिया थाल्न सुझाव दिएका हुन् । संविधान अनुसार निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले २० दिनभित्र पहिलो बैठक बोलाउनुपर्छ ।

गण्डकीमा कुनैपनि पार्टीको एकल सरकार बन्ने अवस्था छैन । त्यसैले संीवधानको धारा १६८ (२) अनुसार सरकार गठन हुनेछ । तर केन्द्रको राजनीतिमा प्रदेश सरकारको जोडघटाउ हुने भएकोले सबै दलहरु पर्ख र हेरको अवस्थामा छन् । कांग्रेस गण्डकीले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले पदाधिकारीलाई निर्वाचन समिति गठनको अधिकार दिएको हो । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । माओवादीले भने अब आफ्नो पालो भएको दावी गरेको छ । यसअघिको सरकारको नेतृत्व कांग्रेसले गरेका कारण अब माओवादीले पालो पाउनुपर्ने धारणा सांसद हरिबहादुर चुमानको छ ।

गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो, २२ सीट सहित एमाले दोश्रो, ८ सीट सहित माओवादी तेश्रो, २ सीट सहित राप्रपा चौंथो र १ सीटको एकीकृत समाजवादी पाँचौ पार्टी बनेको छ । मनाङबाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङे पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width