घरपिच्छे मौरीको घार

धनबहादुर गुरुङ
मंसिर २१, २०७९
Honey Photo

पोखरा । चिटिक्क मिलेको गाउँ । थुम्कोमा भएकाले उत्तरतर्फ हिमालको दर्शन मज्जैले पाइने । भ्याएसम्मका डाँडा हेरेर नयन थाक्दैनन् । सरल, निश्चल र सहयोगी गाउँलेहरुले पाहुनाको मन उसै फुरुङ्ग हुन्छ । योसँगै अग्र्यानिक खानाले बजारबाट गाउँ आउनेहरुको स्वाद फेरिन्छ । बिहानीपखको खाजामा रोटीसँगै दिइने मह पाहुनाको मुखैमा झुण्डिरहन्छ ।

खाजामा मौरीको मह नछुटाउने गाउँ हो, तनहुँको शुक्लागण्डकी वडा २ को दगाम गाउँ । गाउँमा कुल २३ घर छन् । रोचक यो छ कि, सबै घर मौरीको घारले सजिएका छन् । जहाँ मह कहिल्यै टुट्दैन । गाउँमा होमस्टे खुलेपछि पाहुनालाई खाजामा मह दिन छुटाउँदैनन् गाउँलेहरु । पाहुना पनि थपिथपि मह खान्छन् । अझ नपुगेर उनीहरुले दगामको कोसेली भन्दै घरपरिवारका सदस्यलाई चखाउन लिएर फर्किने गरेको गाउँले बताउँछन् ।

गाउँमा उत्पादित मह निकै मिठो र स्वास्थ्यका लागि फाइदाजनक रहेको होमस्टे पुगेका पोखराका पाहुना जनक प्रधानले बताए । कोसेलीका रुपमा मह किनेर बताउँदै उनले भने, ‘अरु ठाउँको होमस्टेमा मह दिने प्रचलन छैन । यहाँ रोटीसँग मह दिनुहुने रहेछ साह्रै मिठो लाग्यो । सबै साथीहरुले दगामको कोसेली मह किनेका छन् ।’

दगामको मह कोसेली बन्न थालेपछि स्थानीय पनि खुसी छन् । उनीहरुले १ किलो महको १ हजार ५ सय रुपैयाँ लिने गर्छन् । पाहुनाको माध्यमबाट व्यापार राम्रै हुन थालेपछि दगाममा व्यावसायिक रुपमै मौरीपालन थालिएको हो । केही स्थानीयले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी पनि लिन थालेका छन् । मह उत्पादन बढ्दै गएकाले मौरीपालन व्यवसाय सुरु गरेको कृषक नन्दराज थापाले जानकारी दिए । दगाम सामुदायिक होमस्टेमा पुग्ने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेको उनले बताए । ‘हामीले मह बेच्न बजार पुर्‍याउनु पर्दैन । सबै गाउँमै आएर लैजान्छन्,’ थापाले भने, ‘यहाँ होमस्टे खुलेपछि मह खोज्दै गाउँमै धेरै आउँछन्, हामीलाई माग धान्न गाह्रो छ ।’

तनहुँको दगाम गाउँ मह उत्पादनका लागि अब्बल हुँदै गएकाले महगाउँका रुपमा चिनाउने गाउँलेको सोच छ

धेरै दुख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरीपालन व्यवसाय सजिलो रहेको कृषक बताउँछन् । मह उत्पादन गरेपछि बजारको समस्या नरहेकाले कृषकको यसमा आकर्षण बढेको हो । कृषकको आकर्षणले गर्दा बेलाबेलामा सरकारी अनुदान पनि आउने गरेको थापाले बताए ।

२०५७ सालमा घरेलु तथा साना उद्योग तनहुँले मौरीपालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरीपालनप्रति गाउँलेको रुचि बढेको उनको भनाइ छ । ‘सुरुमा घरेलु तथा साना उद्योग तनहुँबाट तालिम लिएपछि गाउँ हामीले गाउँमा मौरीपालन सुरु गरेका हौं,’ उनले भने, ‘सुरुमा केही गाह्रो भयो तर पछि कामले काम सिकाउँदै गयो अहिले सबै घरमा मौरीको घार छ ।’ उनले मौरीपालनबाट वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गरेको बताए । उनको ४२ वटा घार छ । मह बेचेको पैसाले दगाम गाउँका कृषकले आफ्नो दैनिकी धान्न सक्ने भएको कृषक थापाले जानकारी दिए । ‘यहाँ सबैको घरमा मौरी पालिएको छ, केहीले राम्रै आम्दानी गर्छन्,’ उनले भने, ‘केहीले घरमै औषधीको रुपमा प्रयोग गर्छन् ।’

अर्का मौरीपालक टीकाराम गुरुङले पनि २२ घारमा मौरी उत्पादन गर्छन् । उनले मासिक ४० देखि ५० हजारको मह बेच्छन् । मह बेचर आएको आम्दानीले आफ्नो पारिवार राम्रैसँग पालिएको उनले सुनाए । पहिले काठेघारमा मौरी पालेका उनले अहिले आधुनिक घारबाट मह काढ्छन् । ‘महका लागि सधैं एकैनासको मौसम हुँदैन । कहिले धेरै नै हुन्छ, कहिले थोरै मह निकालिन्छ,’ उनले भने, ‘सरदरमा मासिक ५० हजारको मह काढिन्छ ।’

यहाँका कृषकले २०७३ मा प्राकृतिक मौरीपालक कृषक समूह दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । उनीहरूले सेरेना प्रजातिको मौरी पाल्दै आएका छन् । त्यहाँ उत्पादन भएको महको बजारीकरणमा समस्या नरहेको कृषक थापाले बताए । दगाममा उत्पादन भएको मह विदेश पनि निर्यात हुने गरेको छ । यहाँको मह मलेसिया, बेल्जियम र हल्यान्डमा निर्यात हुने गरेको छ । पाहुनालाई प्रतिकिलो १५ सय रुपैयाँ र विदेश पठाउँदा २५ सयसम्म लिने गर्छन् ।

दगाम गाउँ मह उत्पादनका लागि अब्बल हुँदै गएकाले दगामको कोसेलीको रुपमा महलाई स्थापित गराउने गाउँलेको सोच छ । सरकारी पक्षबाट सहयोग र अनुदान बढेमा महगाउँका रुपमा चिनाउने गरी व्यावसाय विस्तार गर्ने थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width