पोखरामा होटल स्तरीकरण

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७९
Hotel Category Photo

पोखरा । पोखराका होटल तथा रेस्टुरेन्ट स्तरीकरण तथा लोगो वितरण कार्य सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छता आधारमा यहाँका होटल तथा रेस्टुरेन्ट स्तरीकरण तथा लोगो वितरण थालेको हो ।

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) र होटल एसोसिएसन नेपाल (हान) सहकार्यमा सोमबार पोखराका १४ वटा रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको हो । तीमध्ये माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्टलाई उत्तम होटलमा स्तरीकरण गरिएको खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्लेले जानकारी दिए ।

यस्तै, मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुंगा रेस्ट्रो, मुन डान्स, होटल सहारा र होटल आइसल्यान्ड सन्तोषजनक होटलमा परेका छन् ।

माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्ट उत्तम होटल

कार्यालयले यसअघि पृथ्वीचोकका होटलहरु पनि स्तरीकरण गरेको थियो । निवेदन आधारमा स्तरीकरण कार्य अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए । ‘होटल तथा रेस्टुरेन्टबाट स्तरीकरणका लागि निवेदन आएमा कार्यालयले स्तरीकरणको काम गर्छ,’ उनले भने, ‘अनुगमनमा देखिएका कमीकमजोरी सुधार गर्न सुझाव दिने गरिएको र अर्को पटक अनुगमनमा आउँदा उक्त सुझावको कार्यान्वयन गरिएको हुनुपर्छ, त्यस आधारमा स्तर छुट्याइने गरिएको छ ।’

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले होटल तथा रेस्टुरेन्ट सञ्चालक तथा व्यवस्थापकलाई आफ्नो होटलको स्तरबारे सचेत बनाउन यो कार्यक्रमले सहयोग पुर्‍याउने बताए । यसले उपभोक्ता र व्यावसायीबीचको सम्बन्धमा सुधार आउने उनले बताए । उनका अनुसार होटल तथा रेस्टुरेन्टको स्तरीकरणपछि लोगो टाँस गर्नुका साथै प्रमाणपत्रसमेत प्रदान गरिन्छ । त्यसका लागि खाद्य स्वच्छता समिति गठन गरिएको छ । समितिले खाद्य स्वच्छता आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० वटा सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गर्ने गर्छ ।

एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दामाथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टारसहितको हरियो), ८०–८९ अंक ल्याउने उत्तम (२ स्टारसहितको हरियो), ६५–८९ अंक ल्याउने सन्तोषजनक (१ स्टारसहित हरियो) र ५०–६४ अंक ल्याउनेलाई सामान्य (पहेंलो) लोगो टाँसिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width