पर्यटक लोभ्याउँदै दगाम होमस्टे

धनबहादुर गुरुङ
मंसिर १९, २०७९
DCIM100MEDIADJI_0362.JPG

DCIM100MEDIADJI_0362.JPG

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रे बजार झरेर ७ किलोमिटरको उकालो चढेपछि पुगिन्छ, दगाम गाउँ । समुन्द्री सतहदेखि १ हजार ४ सय मिटरको उचाइको यो ठाउँ पुगेपछि मनै लोभ्याउन हिमशृंखलाले स्वागत गर्छ । त्यसमा गाउँका आमा समूहको आतिथ्यताले मनै फुरुंग बनाउँछ । स्वागत सत्कारपछि पस्किने अग्र्यानिक खाजाले गाउँको तिर्सना मेटाउँछ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले गाउँ पुग्ने जो कोहीलाई लठ्ठ बनाउँछ ।

२०६५ साल अघिसम्म फाट्टफुट्ट आन्तरिक पर्यटक गएपनि त्यसपछि पाहुनाहरुको संख्या बढेको स्थानीय तिलबहादुर थापाले बताए । कारण थियो, सोही वर्ष गाउँलेले दगाम सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरेका थिए ।

तनहँुको शुक्लागण्डकी २ मा पर्ने दगाममा घरबास स्थापना गरेपछि गाउँमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेको होमस्टकी अध्यक्ष तिला थापाले जानकारी दिइन् । ‘होमस्टे चलाउने भनेर २०६३ सालदेखि नै योजना बनाएका हौँ’, उनले भनिन्, ‘शिरुबारी गएपछि झनै सजिलो भयो । पहिला थोरै घरले मात्र चलाएका थियौं अहिले सबै घरमा पाहुना राख्न सकिन्छ ।

दगाम सामुदायिक होमस्टेमा ४० जनासम्म राख्नसक्ने क्षमता छ । गाउँलहरुकै पहलमा ३ तले सामुदायिक भवन पनि बनाइएको छ । भवन बनाउन सरकारी पक्ष र विभिन्न संघसस्ंथाले धेरैथोरै सहयोग गरेको छ । पाहुनालाई स्वागत गर्ने देखि खाना खुवाउने र मनोरञ्जनको काम त्यही भवनमा गरिन्छ । राति सुत्ने बेलामा पाहुनाहरुलाई घर घरमा लगिन्छ । बास बस्न नपुगेको अवस्थामा सामुदायिक भवनमै पनि सुत्न सकिन्छ । जहाँ ६ वटा कोठा पाहुना राख्नकै लागि बनाइएको छ । होमस्टेमा १ हजार ४ सयको प्याकेज छ । जसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, आवास र मनोरञ्जनको समावेश गरिएको छ ।

कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष थापाले जानकारी दिइन् । ‘पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायत स्थानीय परिकार नै खुवाउने गर्छौैं’, उनले भनिन्, ’स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।’

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको परिचय थपिएको छ

प्रकृति, संस्कृति र आत्मीयतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिए । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको परिचय थपिएको छ ।

मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउँछन् । यहाँ कात्तिक–मंसिरमा बालन नाच, मंसिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उनले जानकारी दिए । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो ।

यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रे हिमाल, ९ जिल्लाका डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले जो–कोही लोभिने गरेका छन् । चैत–वैशाखमा वरपरका जंगलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ ।

दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशेषता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अग्र्यानिक महको स्वाद लिन पाउँछन् । दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किंदा पालिकाबाट कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिए ।

यति परिचय, विशिष्टता र महिमा रहँदारहँदै पनि पूर्वाधार विकास नहुँदा त्यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको स्थानीय लालबहादुर गुरुङले जानकारी दिए । दगाम गाउँको मुख्य समस्या भनेकै बाटो र पानी रहेको उनले बताए । पानीको समस्या केही मात्रामा हल भए पनि बाटोको समस्या उस्तै रहेको उनको गुनासो थियो । ‘खानेपानीका लागि लिफ्टिङबाट प्रयोग गरिरा’छौं, उनले भने, ‘बाटो पनि नभएको त होइन तर पाहुनालाई सजिलो हुने खानको छैन । त्यसको लागि हामी नगरपालिकालाई गुहारेका छौं ।’

शुक्लागण्डकी नगरपालिका २ का अध्यक्ष सुमन रानाले दगाम पुग्ने सडक स्तरोन्नतिको काम अघि बढिसकेको जानकारी दिए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाईंहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउँछु भन्ने प्रतिबद्धता गरेको थिए । अहिले काम अघि बढिरहेको छ । तपाईंहरु ढुक्क हुनुहोस्,’ उनले भने । स्थानीय तहले सकेको स्थानीय तहले गर्ने अनि ठूला आयोजनामा प्रदेश र संघसँग सहकार्य गर्न आफू तयार रहेको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width