गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

प्रकाश ढकाल
मंसिर १६, २०७९
Gorakhkali

पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले खर्च गर्छ । २०७२ सालमा २३ करोड २९ लाख रुपैयाँको टायर आयात भएको थियो । जुन वर्ष नेपालकै प्रमुख उद्योग गोरखकाली टायर उद्योग पूर्णरुपमा ठप्प भएको घोषणा गरियो । २०७१ चैतदेखि उद्योग ठप्प छ ।

जसका कारण भवनहरु जीर्ण बनेका छन् । मेसिनहरु कवाडीसरह भएका छन् । कर्मचारीहरु बिदा भैसके । पछिल्ला निर्वाचनमा स्थानीय तहदेखि संसदीय निर्वाचनका उम्मेदवारले समेत बन्द उद्योग सञ्चालनको योजना घोषणापत्रमार्फत सार्वजनिक गर्छन् । अहिले पनि सबै उम्मेदवारको घोषणापत्रमा गोरखकाली रबर उद्योग सञ्चालनका एजेन्डा समेटिएकै छन् । तर निर्वाचित भएपछि फर्किएरै हेर्दैनन् ।

जनप्रतिनिधिले चासो नदिए पनि रबर उद्योग चलाउन चिनियाँ टोलीले चासो देखाएको छ । उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न टोली गोरखा पुगेको छ । बुधबार उक्त टोलीले अध्ययन गरिसकेको टोलीका नेपाली प्रतिनिधि दिनेश खनालले बताए । अवलोकनसँगै उनीहरुले गोरखा नगरपालिकाका मेयर कृष्ण रानासहित स्थानीय जनप्रतिनिधिसँग पनि छलफल गरेका छन् । सोही टोलीले ४ वर्षअघि पनि उक्त उद्योगको अवलोकन गरेको थियो । टोलीमा झेन जि सेङ, चेन वीङगुओ र काओ सेनकुन छन् । तीमध्ये सरकारी निवृत्त १ जना कर्मचारी र २ जना व्यवसायी हुन् ।

३ सिफ्टमा उद्योग चलाउँदा मासिक ६ हजार थान टायर उत्पादन गर्न सकिने टोलीको निष्कर्ष छ

अध्ययनपछि उनीहरुले केही नयाँ प्रविधि थपेर उद्योग सञ्चालनको सम्भावना रहेको बताएका छन् । ‘उद्योगको अवस्था राम्रो छ । जग्गा र भौगोलिक अवस्थामा समस्या छैन,’ टोलीलाई उदृत गर्दै दोभाषे खनालले भने, ‘केही मेनुअल प्रविधि फेज आउट भैसकेको छ । यसलाई फेर्नुपर्छ । नेपाल सरकारले अनुमति दिए सञ्चालन गर्न सकिन्छ ।’

यसअघि प्राविधिकसहितको सोही टोलीले मर्मत खर्चसहितको रिपोर्ट सरकारलाई बुझाएको थियो । उक्त उद्योग २०४२ सालमा चिनियाँ कम्पनीले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । उद्योगले मझुवाको ७ सय ३० रोपनी जग्गा समेटेको छ । उद्योगबाट सामान्य समयमा प्रतिदिन ६ सय २४ थान टायर उत्पादन हुन्थ्यो । ट्रकका लागि १२, जिप र भ्यानका लागि ५ तथा कारहरुका लागि ६ प्रकारका टायर उत्पादन हुने गरेको थियो । सरकारले उद्योग बनाउनकै लागि २०४२ सालमा १ करोड १४ लाख रुपैयाँमा ६ सय ८२ रोपनी जग्गा खरिद गरेको थियो । सरकारको ३८ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनको ३८ प्रतिशत, पब्लिक सेयर २० प्रतिशत र बाँकी विभिन्न बैंक र संस्थानहरुको समेत ५० करोड लगानीमा उद्योग स्थापना भएको हो । २०४२ सालमा शिलान्यास भएको उद्योग २०४९ मंसिर २९ मा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए ।

उद्योग पुनः सञ्चालन सम्भावनाबारे अध्ययन गर्न २०७८ साउन १९ को मन्त्रिपरिषद् बैठकले पूर्व सञ्चार सचिव दीपक सुवेदीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले उद्योगको अवस्थाबारे प्रतिवेदन सरकारलाई बुझायो । त्यसपछिका हरेक बजेट र नीति तथा कार्यक्रममा सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने घोषणा गर्छ, काम गर्दैन । कार्यदलले निजी क्षेत्र मार्फत उद्योग चलाउन सुझाव दिए पनि सरकारले ठोस निर्णय गरेको छैन । सञ्चालन मोडालिटी बनाएर लामो समयका लागि जिम्मा दिए उद्योग चलाउन चिनियाँ टोली तयार रहेको खनाल बताउँछन् ।

३ सिफ्टमा उद्योग चलाउँदा मासिक ६ हजार थान टायर उत्पादन गर्न सकिने टोलीको निष्कर्ष छ । तत्कालीन समयमा देशको ४० प्रतिशत माग सोही उद्योगले धानेको सोही समयका जिएम विनोद तिवारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width