गण्डकीको पहिलो सामुदायिक क्याम्पस : पोखरा बहुमुखी आफ्नै भवनमा

धनबहादुर गुरुङ
मंसिर १५, २०७९
PMC Photo

पोखरा । पोखरा बहुमुखी क्याम्पस, नयाँबजारले बुधबार ३६ औं स्थापना दिवस मनाउनेक्रममा छुट्टै रौनक थियो । २०४४ सालमा स्थापना भएको क्याम्पसको यो पटकको वार्षिकोत्सव फरक थियो ।

एकापट्टि पञ्चेबाजा घन्किएका थिए भने शिक्षक, अभिभावक, विद्यार्थी र अतिथिको अनुहारमा छुट्टै कान्ति देखिन्थ्यो । कारण यसकारण थियो–क्याम्पसको आफ्नै नयाँ भवन । क्याम्पसको वार्षिकोत्सवसँगै नयाँ भवन प्रवेश गरिएको हो ।

शिक्षामा बढ्दो रुचिसँगै विद्यार्थीको बढ्दो चाप ध्यानमा राखेर पृथ्वीनारायण (पिएन) क्याम्पसको विकल्पमा स्थापित महेन्द्र बहुमुखीले लामो समयपछि आफ्नै भवन पाएको हो । त्यसबेला पिएन पढ्नकै लागि आएका सिट संख्या कम भएकाले धेरैले पढ्न पाउँदैनथे । दुर्गम क्षेत्रबाट आएकाहरु भर्ना हुन नपाएर घर फर्कनुपर्ने बाध्यताले तत्कालीन अञ्चलाधीश नरेन्द्र चौधरीको ध्यान खिच्यो । उनकैको पहलमा तत्कालीन पोखरा नगर पञ्चायत र पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा महेन्द्र बहुमुखी क्याम्पस स्थापना भएको हो । क्याम्पस स्थापनामा पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघले आर्थिक व्यवस्थापन गरेर पोखरा १, बगरस्थित राष्ट्रिय माविबाट शैक्षिक यात्रा सुरुआत भएको पाइन्छ ।

पोउवा संघ, अञ्चलाधीश, समाजसेवी, शिक्षाप्रेमीको अगुवाइमा ‘सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा’ नाराका साथ तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा स्थापित थियो । स्थापनासँगै सुरुका दिनमा प्रमाणपत्र तहमा मानविकी र व्यवस्थापन संकायमा कक्षा सञ्चालन गर्न थाल्यो ।

विविध समस्या झेल्दै क्याम्पस २०५९ सालमा पोखरा नयाँबजारमा स¥यो । नयाँबजार झर्दासम्म क्याम्पसको आफ्नो भवन थिएन । त्यहाँ पनि तत्कालीन महेन्द्र निमावि स्कुलको भवनबाट कक्षा सञ्चालन भयो ।

नयाँबजार आएको अर्को वर्षदेखि नै विश्वविद्यालयमा आएको नीतिगत परिवर्तनले प्रमाणपत्र तह विस्थापित भएर स्नातकतर्फ मानविकी (बिए) र व्यवस्थापन (बिबिएस) तर्फका कक्षा सञ्चालन भए । नेपालको शैक्षिक नीति परिवर्तन हुँदै जाँदा महेन्द्र निमाविले पनि कक्षा १२ सम्म पढाउन सुरु ग¥यो । त्यति बेलासम्म क्याम्पस सञ्चालक समितिले आफ्नै भवन हुनुपर्ने महसुस गरिसकेको थियो ।

त्यसपछि सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचन लागिपरे । उनीसँगै अन्य सदस्य पनि आफ्नै भवन हुनुपर्छ भन्दै जोडतोडले लागे । यस विषयमा पोखरा महानगरका तत्कालीन मेयर मानबहादुर जिसी सकारात्मक भए । स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा वडा ९ पहलमा मेयर जिसीले पोखरा ९ मा रहेको सार्वजनिक जग्गा क्याम्पसलाई उपलब्ध गराए । मेयर जिसीले २०७७ असार १२ मा शिलान्याससँगै भवन निर्माण सुरुआत गरिएको अध्यक्ष नरेन्द्रमान लालचनले जानकारी दिए । महानगरले ४ रोपनी उपलब्ध गराउने भनिए पनि ७ रोपनी जतिमा २ भवन बनाइएको छ ।

पिएनको विकल्पमा ३५ वर्षअघि स्थापित क्याम्पसमा हाल ४ सय विद्यार्थी पढ्छन्

२३ कोठे सुविधासम्पन्न एवं अपांग तथा प्रविधिमैत्री भवन बनाउन ९ करोडभन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको सञ्चालक समिति कोषाध्यक्ष शंकर गुरुङले जानकारी दिए । उनका अनुसार अहिले केही कोठाहरु निर्माण हँुदै छन् । यसका लागि त्रिविबाट ५० लाख, आन्तरिक स्रोतबाट ५० लाख, अध्यक्ष लालचनबाट ५० लाख ५ हजार, एनएमबी बैंकबाट ३५ लाख र व्यावसायी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवीलगायतले सहयोग छ ।

समुदायबाटै स्थापना भएको क्याम्पसको समुदायकै सहयोग र सद्भावबाट आफ्नै भवनमा सर्न सफल भएको अध्यक्ष लालचनले बताए । उनले नयाँ भवनबाट थप कार्यक्रम अघि बढाउने सोचिरहेको बताए । निम्न वर्गका विद्यार्थी र दूरदराजबाट आएकालाई सर्वसुलभ मूल्यमा शिक्षा प्रदान गर्नु आफूहरुको उद्देश्य रहेको उनको भनाइ थियो । अहिले भवन बन्दै गरेको स्थान शान्त र क्याम्पसलाई सुहाउँदो भएका कारण पनि अझ विद्यार्थी बढ्ने उनको आ¬ंकलन छ ।
अहिले बिए र बिबिएस २ संकायमा ४ सय जना विद्यार्थी अध्ययन गरिरहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् । उनका अनुसार क्याम्पसमा २९ प्राध्यापक र ९ कर्मचारी छन् । क्याम्पस आफ्नै भवनमा सञ्चालनपछि क्युएए प्राप्त गर्न सहज हुने पराजुलीले विश्वास व्यक्त गरिन् । क्याम्पसले निकट भविष्यमै विज्ञान संकायसहित स्नातकोत्तर तह थप्ने गरी अगाडि बढेको उनको भनाइ छ ।

नयाँ भवनमा ३६ औं वार्षिकोत्सव

पोखरा बहुमुखी क्याम्पसले ३६ औं वार्षिकोत्सव मनाउनेक्रममा साताव्यापी कार्यक्रमको आयोजना गरेको थियो । बुधबार नयाँभवन सर्नुअघि पञ्चेबाजा बजाउँदै नगर परिक्रमा गरिएको थियो । सो अवसरमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफू पनि हर्षविभोर भएको बताए । ‘यो क्याम्पस गण्डकी प्रदेशकै पहिलो सामुदायिक क्याम्पस हो । ‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने, ‘अहिले बल्ल अब्बल बन्दैछ । आफ्नै भवन पाएको छ । दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुसी छु ।’

उनले आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे । ‘म पदमा रहे पनि वा नरहे पनि क्याम्पसका लागि आवश्यक सहयोग सधैं हुनेछ,’ उनले भने । मन्त्री थापाले क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकूल विषय थप गर्न आग्रह समेत गरे ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष लालचनले सम्पूृर्ण पोखरेलीको साथ र सहयोगमा क्याम्पस आफ्नै भवन सर्न सकेको बताए । अझै एकतला थप्ने योजना रहेको र त्यसका लागि पनि सहयोगको अपेक्षा गरेको उनले बताए । ‘क्याम्पस भवन बनाउन निर्माण समिति आफ्नै खर्चमा जुटेको थियो । सम्पूर्ण मनकारीको भरमा यो संस्थाले गति लिएको हो,’ उनले भने ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले ३६ औं वार्षिकोत्सव ‘विशेष’ भएको बताइन् । भौतिक संरचनाको अभावमा नयाँ विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै उनले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् ।
क्याम्पसका शैक्षिक गतिविधि समेटिएको बुलेटिन पनि सो अवसरमा विमोचन गरिएको थियो । उत्कृष्ट कर्मचारी र प्राध्यापकलाई क्याम्पसले सम्मान गरेको छ । चन्दादातालाई सम्मान गर्नुक साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । यसअघि भएको छात्रा भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width