दलले गुमाए मत

एमालेले संघमा गुमायो ४० हजार, कांग्रेसलाई ३२ हजार नोक्सान

प्रकाश ढकाल
मंसिर १५, २०७९
gandaki resul 1

पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको मत अहिले खुम्चिएको छ । बरु मधेशबाट उदाएका दलहरुले सम्मानजनक मत पाउँदा गण्डकीमा अधिकांश पहाडको प्रतिनिधित्व गर्ने दलहरु कमजोर सावित भए । गएको ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीको मतगणना सकिएको छैन, उत्तरार्धमा छ ।

अघिल्लो निर्वाचनमा थ्रेस होल्ड कटाएर ५ वटा पार्टीले प्रदेश सभामा सिट पाएका थिए । अहिले ४ राजनीतिक दलले मात्रै प्रवेश पाउने देखिएको छ । त्यसमा पनि प्रत्यक्षतर्फ ३ दलमात्रै हुने छन् । अघिल्लो पटक प्रत्यक्षसहित २ सिट पाएको तत्कालीन नयाँ शक्ति अहिले नेकपा (माओवादी केन्द्र) मा विलयजस्तै भइसकेको छ । नेपाल समाजवादी पार्टीले माओवादीकै चुनाव चिन्हबाट गोरखामा १ सिट जित्यो । समानुपातिकमा उसले अघिल्लो चुनावको सिट गुमाउने छ भने माओवादीले समेत प्रत्यक्षमा निकै कम सिट पायो । ५ वर्षअघि ९ सिट जितेको माओवादी समाजवादीको सिट छोड्दा अहिले ४ सिटमा खुम्चियो । समानुपातिकमा पनि पहिलेकै ३ सिटमा सीमित हुने पक्का छ ।

गठबन्धनका कारण प्रत्यक्षतर्फ कांग्रेसलाई फलिफाप भएको छ । ६ सिटमात्रै जितेर कमजोर उपस्थितिमा ५ वर्ष कटाएको कांग्रेसले अहिले १६ सिट जितिसकेको छ भने गणना बाँकी रहेका २ क्षेत्रबाट अझै बढाउन सक्छ । समानुपातिकमा कांग्रेसले ८ देखि १० सिट जित्न सक्छ । १७ सिट जितेको एमाले १२ सिटमा झरेको छ भने गन्न बाँकी रहेका क्षेत्रबाट थप्न सक्छ । समानुपातिकतर्फ कम्तीमा १० सिट एमालेले जित्ने पक्का छ । समानुपातिकको सहारामा संसद ‘इन्ट्री’ गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट पाउने सम्भावना छ ।

गण्डकीबाट प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी र प्रदेश सभामा राप्रपाको हलोलाई मत ‘स्विङ’

‘भोट ट्रेन्ड’ हेर्दा प्रत्यक्षतर्फ प्रभावशाली दलकै दबदबा रहे पनि समानुपातिक मतमा फरक नतिजा आएको छ । पछिल्लो ५ वर्षमा प्रदेशका मतदाताको अप्रत्यासित ‘मुड चेन्ज’ भएको छ । भर्खरै खुलेका दलले ल्याएको मतले पुराना पार्टीहरुलाई धक्का दिएको छ । हालसम्मको गणना अनुसार प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश सभामा राप्रपालाई मत ‘स्विङ’ भएको देखिन्छ । एमालेलाई प्रदेश सभामा भन्दा प्रतिनिधि सभामा ४० हजार १ सय २७ मत घाटा लागेको छ । प्रतिनिधि सभामा ३ लाख ४० हजार ५ सय ३३ मत पाएको उसले प्रतिनिधि सभामा ३ लाख ४ सय ६ मत मात्रै पाएको छ ।

कांग्रेसलाई प्रतिनिधि सभामा ३२ हजार ८ सय ७५ मत घाटा लागेको छ । प्रदेश सभामा ३ लाख १७ हजार ५ सय ९६ मत पाएको कांग्रेसले प्रतिनिधि सभामा २ लाख ८४ हजार ७ सय २१ मत मात्रै पायो । माओवादीलाई प्रदेशमा भन्दा प्रतिनिधि सभामा ८ हजार २ सय २९ मत नोक्सान भएको छ । १ लाख १५ हजार ३ सय ६६ मत प्रदेश सभामा ल्याएको उसले प्रतिनिधि सभातर्फ १ लाख ७ हजार १ सय ३७ मत पाएको छ । त्यसो त राप्रपाले पनि प्रदेशमा भन्दा प्रतिनिधि सभामा निकै कम मत पाएको छ । प्रदेश सभामा ५७ हजार १ सय १६ मत पाएको उसले प्रतिनिधि सभातर्फ ३७ हजार २ सय ८५ (१९,८३१ मत कम) पायो ।

हाम्रो नेपाली पार्टीको १८ हजार तथा जनमोर्चा र एकीकृत समाजवादीले प्रदेश सभामा १४/१४ हजार मत पाएका छन् । प्रतिनिधि सभामा उनीहरुको मत पनि निकै कम छ । हाम्रो नेपाली पार्टीले ४ हजार ६ सय १०, जनमोर्चाले १० हजार १ सय ११ र एकीकृत समाजवादीले ९ हजार १ सय ६३ मत पाएको छ । प्रदेशभरिबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेर संसद छिरेको छ । कास्कीमा कांग्रेसलाई पनि पछि पारेको रास्वपा अधिकांश जिल्लामा तेस्रो बनेको छ । पर्वत, स्याङ्जा, तनहुँ, लमजुङ र मनाङमा रास्वपाको मत तेस्रो स्थान छ ।

बागलुङमा १ सय मत मात्रै पछाडि परेको रास्वपा मुस्ताङ र म्याग्दीमा चौंथो पार्टी हो । नवलपुरमा माओवादीलाई रास्वपासँगै राप्रपाले पनि उछिनेको छ । प्रदेश सभामा भने रास्वपाको सहभागिता नहुँदा त्यसको फाइदा ठूला पार्टीहरुले नै लिएका छन् । प्रदेश सभा तर्फ एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो बनेको छ । अघिल्लो चुनावमा छैटौं पार्टी बनेको विवेकशील साझा अहिले गण्डकीबाट पत्तासाफ भयो । कमल थापा नेतृत्वको राप्रपा नेपालको उपस्थिति पनि सम्झनलायक छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width