पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

रासस
मंसिर १४, २०७९
Pokhara Airport

काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरूले विश्वास व्यक्त गरेका छन् ।

सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न मुलुकको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाडौं भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्नसक्ने छन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीको भनाइ छ ।

नेपाल भ्रमण वर्ष–२०११ का संयोजक समेत रहेका होटल एसोसिएसन नेपाल (हान) का पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु मुलुकको पर्यटन क्षेत्रका लागि सुखद् विषय भएको बताए ।

‘विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ,’ उनले भने, ‘हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो ।’ उनले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी विप्लव पौडेलले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरा आउने स्वदेशी र विदेशीपर्यटक बढ्ने विश्वास व्यक्त गरे । ‘मुलुकको अर्थतन्त्रका सूचकांक राम्रो नभएको अवस्थामा, विमानस्थल निर्माण हुनु निकै राम्रो हो,’ उनले भने, ‘विमानस्थल निर्माणले पोखराका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।’

पौडेलले नयाँ विमानस्थल निर्माण भएपछि रात्रिकालीन हवाई उडान पनि हुने र यसले आन्तरिक पर्यटक पनि बढाउनेमा विश्वास व्यक्त गरे । विमानस्थल निर्माण भएपछि पोखराको पर्यटन विकासमा ‘टर्निङ प्वाइन्ट’ बन्नसक्ने उनको भनाइ छ ।

हानका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएपछि पर्यटनको विकासमा नयाँ आयाम थपिने बताए । विमानस्थल सञ्चालनमा आएपछि पर्यटन विकासमा नयाँ आयाम थपिनेछ,’ उनले भने, ‘विमानस्थल निर्माण भएपछि पोखरामा भारतीय पर्यटकहरू उल्लेख्य संख्यामा बढ्नेछन् ।’

हाल काठमाडौं ओर्लने ४० देखि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको तथ्यांक छ । यीमध्ये ४० देखि ४५ प्रतिशत पोखरा पुग्छन् । यसरी पोखरा नेपालको दोस्रो पर्यटन गन्तव्य रहिआएको छ ।

काठमाडौं ओर्लने ४० देखि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा घुम्न गर्दछन्

नेपाल पयर्टन बोर्डको तथ्यांक अनुसार पछिल्लो १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जसमध्ये अक्टोबरमा मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका छन् ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जनामा सीमित भएको थियो ।

त्यसैगरी सन् २०२१ मा भने १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो । पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । उक्त विमानस्थल सञ्चालनमा आएको छमहिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।

विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङ ‘भूमिस्त’ सेवाका लागि बुद्धएयरले क्यानसमक्ष निवेदन दिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एकसाता लामो यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।

उक्त प्रतिवेदन आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ । ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिठ्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width