प्रधानमन्त्रीसहित ६ मन्त्री निर्वाचित, ५ पराजित   

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७९
NA-Chitwan-NCPresidentDeubab

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित हुनुभएको छ भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले २५ हजार पाँच सय ३४ मत प्राप्त गर्नुभएको छ । निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गर्नुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी हुनुभयो । उहाँले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार पाँच सय ४९ मत प्राप्त गर्नुभयो । सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले एमालेका शान्ता चौधरीलाई पराजित गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी हुनुभएको छ ।

गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा नारायण खड्काले उदयपुर क्षेत्र नं १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता कायम गरिराख्नुभएको छ । हालसम्म गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि हुनुहुन्छ ।

रुपन्देही ३ बाट उम्मेदवार बन्नुभएका गृहमन्त्री खाणले २९ हजार दुई सय ५५ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३० हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै सुनसरी ४ बाट उम्मेदवार बन्नुभएका सञ्चारमन्त्री कार्की एक सय एक मतसहित पछाडि हुनुहुन्छ । मन्त्री कार्कीले १९ हजार सात सय नौ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ ।

यसपटकको निर्वाचनमा पाँच मन्त्रीले पराजय बेहोर्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित हुनुभएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

hero news full width