भीमबहादुर कार्की : लगावको परिणाम

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
bhim karki

पोखरा । गण्डकी प्रदेशसभामा नेकपा एमाले कास्की २(१) बाट निर्वाचित भीमबहादुर कार्कीको राजनीतिक करियरले चार दशक पूरा गरेको छ । २०२६ सालमा स्याङ्जामा जन्मिएका उनको स्थायी बसोबास पोखरा ३३, भरतपोखरी हो ।

उनले ११ वर्षकै कलिलै उमेरमा राजनीतिक सुरुआत गरेको पाइन्छ । त्यसबेला निर्दलीय पञ्चायती व्यवस्थाको क्रूर दमनविरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर विद्यार्थी आन्दोलनमार्फत न्याय र समानताको पक्षमा उभिए । उनी १४ वर्षको छँदा २०४० सालमा पहिलोपटक गिरफ्तार परे ।

त्यसपछि क्रमशः २०४२ सालको आन्दोलन, २०४५ सालको नाकाबन्दी विरोधी आन्दोलन, २०४६ र २०६२/०६३ को दोस्रो जनआन्दोलनमा गिरफ्तारी र जेलजीवन बिताउँदा उनी संघर्षले खारिए ।

अनेरास्ववियु विद्यालय र क्याम्पस कमिटीमा रहेर नेपालको विद्याथी आन्दोलनका सशक्त अगुवाको रूपमा उनी अघि बढ्दै गए । २०४७ सालमा पार्टीको स्याङ्जा जिल्ला कमिटी सदस्य र कार्यालय सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी तत्कालीन गण्डकी अञ्चलका विभिन्न जिल्लामा संगठन निर्माणमा खटिए ।

२०५२ सालमा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य निर्वाचित भए । ०५८ मा गण्डकी अञ्चलको कार्यालय सचिव हुँदै २०६६ देखि ०७४ सम्म पार्टीको केन्द्रीय स्कुल विभागको सदस्य बने । उनको कुशल बौद्धिक नेतृत्व अर्को परिचय हो ।

२०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य बनेका उनी एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । त्यसलगत्तै कास्कीको इन्चार्ज सम्हाले । उनी हाल केन्द्रीय भूमि व्यवस्था विभागको उपप्रमुखरूपमा समेत क्रियाशील छन् । आफ्नो पार्टी पटक पटक सरकारमा जाँदा पनि उनले कुनै सांसद वा मन्त्रीको चाह राखेनन् । न त कुनै राजकीय नियुक्ति नै लिए ।

अन्तिम परिणाममा कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा उनका निकतम् प्रतिस्पर्धी राप्रजाका विजयबहादुर भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० ल्याउँदै तेस्रो स्थानमा रहे ।

Related News

सम्बन्धित समाचार

hero news full width