राजन गोंगजु छैटौं संस्करणको टुर दी पोखराका संयोजक हुन् । झण्डै एक दशकदेखि पोखरामा साइकल यात्रालाई प्रवद्र्धन गर्दै आएको साइकल सिटी पोखरामा उनी उपाध्यक्षको भूमिकामा छन् । सोही संस्थाले आगामी पुस ९ गते पोखरामा १९ किलोमिटर दूरीमा ‘बृहत् टुर दी पोखरा’ आयोजना गर्दै छ । यसअघि पोखरा महानगरपालिकाले पुस ६ गते रानीवन क्षेत्रमा दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता आयोजना गर्ने छ । ‘बोसो पगाल, इन्धन नबाल भन्ने’ नारा बोकेको साइकल सिटीले पोखरा महानगरपालिकाको समन्वयमा आयोजना गर्न लागेको उक्त कार्यक्रमबारे आदर्श समाज संवाददाता रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
टुर दी पोखरा आयोजना गर्नुको प्रमुख उद्देश्यहरु के–के हुन् ?
साइकल सिटीको मूल अवधारणा भनेको स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धन हो । साइकल चलाउनाले स्वस्थ रहन मद्दत पुग्छ । वातावरण भन्ने बित्तिकै साइकल चलाउनाले इन्धन खपत नहुने र वातावरण संरक्षणमा पनि टेवा पुग्ने भयो । अर्को टुरिजमको कुरा पनि छ, टुरिजम किन भने साइकल चढेर गाउँ गाउँ जान पनि सजिलो हुन्छ । एउटा कुरा के जोडौं भने केही समय पहिला हामीले राउन्ड दी बेगनास आयोजना गर्यौं, त्यो बेलाका हाम्रा फोटाहरु कताकताबाट बेलायती राजदूतको आँखामा परेछन् । ती फोटो देखेर राजदूत पोखरामा साइक्लिङ गर्न भनेर आउनुभयो । यसले पनि पर्यटनलाई बढाउन मद्दत पुग्यो । यसअघि नेपाल आयल निगम हाम्रो प्रायोजक थियो, यो पटक निरन्तरता हुन्छ कि अरु कसैसँग सहकार्य हुन्छ, हेर्दै जाऊँ ।
फ्रान्समा आयोजना गर्दै आइएको टुर दी फ्रान्ससँग मेल खाने गरी कार्यक्रमको नाम राख्नुभएको छ, त्यसैको नक्कल हो कि केही फरक अवधारणा पनि छन् तपाइँहरुका ?
टुर दी फ्रान्सकै कन्सेप्टमा टुर दी पोखरा भनेका हौं । तर कुरा के छ भने टुर दी फ्रान्सको अवधारणासँग मिल्दोजुल्दो कार्यक्रम यहाँ हुन सकेको छैन । फ्रान्सको कार्यक्रमले एक सय वर्षभन्दा बढी समय कटायो । त्यहाँ हरेक वर्ष कार्यक्रम र साइक्लिङको दूरी पनि बढी हुने गर्छ । त्यो हाइक्लासको पनि हुन्छ । तर हामी भने सिटी राइडमा नै सीमित भयौं । त्यसैले यो पटक हामीले नयाँ कार्यक्रमस्वरुप पुस ७ गते बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर लामो साइकल र्याली पनि आयोजना गर्दै छौं । अर्को वर्ष हामी ७२ किमीभन्दा बढी दूरीको र्याली आयोजना गर्ने छौं ।
साइकल चढाइलाई प्रवद्र्धन गर्न पोखरामा गर्नुपर्ने थप कामहरु के–के छन् जस्तो लाग्छ, यहाँलाई ?
जतिसुकै जेसुकै भने पनि नीति निर्माताले नै भूमिका खेल्दा रहेछन् देश बनाउनका लागि र देशलाई कता लैजाने भनेर । अहिले पोखरा अस्तव्यस्त भइसकेको छ । यसरी नै पोखरा अगाडि बढे पोखराको हालत १० वर्षमा के होला । हामीले पोखरालाई काठमाडौं जस्तै वा अरु कतिपय सहर जस्तै प्रदूषणयुक्त बनाउने हो कि? यो कुरालाई सम्बन्धित निकायले आजैबाट ख्याल गरेर अगाडि बढ्न जरुरी छ । अबको १० वर्षमा पोखरालाई ग्रिनसिटीको रुपमा विकास गर्न योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्छ । यसका लागि साइकल यात्रालाई प्रवद्र्धन र सार्वजनिक यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन पनि जरुरी छ । यस्तो अवधारणा अगाडि बढाउन नेपालका हाकिमलाई गाडी नदिई मोटरसाइकल दिन सकिन्छ । कर्मचारीलाई साइकल दिन सकिन्छ । यसले इन्धनको बचतमात्र होइन, वातावरण पनि संरक्षण हुन्छ । त्यही भएर पोखरा महानगरपालिकाले आफूलाई कस्तो बनाउने भन्ने नीति अहिलेदेखि नै बनाएर अगाडि बढ्न जरुरी छ ।
लेक टु लेक अवधारणाअनुसार ७२ किलोमिटर लामो साइकल रुट बनाएका छौं । बाटोमा संकेतहरु पनि राखिएको छ
साइकलकै कुरा गर्दा यसको मूल्य पनि महँगो छ, साइकल खासमा गरिबले भन्दा पनि धनीले चढ्ने जस्तो साधन बन्न लाग्यो भन्नेहरु पनि छन्, के भन्नुहुन्छ ?
त्यस्तो होइन । यो कुरालाई दुई तरिकाले हेरौं । एउटा रोजीरोटी र कामका लागि साइकल चलाउने छन् । अर्को चाहिं स्वास्थ्य र व्यायामका लागि साइकल प्रयोग गर्नेहरु छन् । व्यायामको रुपमा प्रयोग गर्नेहरुले महँगो साइकल लिएका होलान् । काममा जानेले सस्तो साइकल लिएका हुन सक्छन् । सरकारले साइकल प्रवद्र्धन गर्नै चाहने हो भने गरिबहरुका लागि साइकलमा सब्सिडिज पनि दिन सक्छ । यसले इन्धन आयातको खर्च पनि बचाउँछ । महँगो र सस्तो साइकल भन्ने त गच्छेअनुसार किन्ने हो । मोबाइल कै कुरा गर्ने हो भने पनि त सस्तो महँगो सबै छन् नि । सस्तो महँगो भन्ने आवश्यकता र क्षमताले निर्धारण गर्ने कुरा हो ।
पोखराको काँठ क्षेत्र र वरपरका डाँडाकाँडा साइक्लिङका लागि कत्तिको उपयुक्त स्थलहरु हुन् ?
हामीले लेक टु लेक भन्ने अवधारणा ल्याएर ७२ किलोमिटर लामो साइकल रुट बनाएका छौं । बाटोमा यसका लागि संकेतहरु पनि राखिएको छ । फेवातालबाट सुरु भएर रुपाताल जोड्ने गरी यो रुट अगाडि बढाइएको हो । पोखराको रानीवन क्षेत्रमा पनि यस्ता रुटहरु रहेका छन् । पोखरा र वरपर अनगिन्ती रुटहरु साइकलका लागि उपयुक्त छन् । पुम्दीकोट, धम्पुस, अर्मला, लेखनाथ, घान्द्रुक लगायत पोखराका सबै क्षेत्रमा यस्ता रुटहरु प्रशस्त छन् । तिलिचो, मुक्तिनाथ, रारा लगायत क्षेत्रमा समेत नेपाली र विदेशी पर्यटक अहिले साइकल यात्रामा रमाउन जाने गरेका छन् । रारामा बढी मात्रामा नेपाली जाने गरेका छन् । तिलिचो र मुक्तिनाथमा हाम्रा साथीहरु पनि गएर आउनुभयो ।
अन्त्यमा, साइकलप्रेमीलाई केही आह्वान गर्न चाहनुहुन्छ कि ?
सर्वप्रथम त कार्यक्रमलाई सफल बनाउन मिडियाको सहयोग हामीले अपेक्षा गरेका छौं । साइकलयात्रा किन जरुरी छ र यसको महत्व के हो भन्ने मिडियाले सबैलाई बुझाउन सक्छ । साइकललाई शारीरिक अभ्यासको साधनको रुपमा मात्र नभई यातायातको साधनको रुपमा पनि प्रयोग गर्न सबैलाई आह्वान गर्न चाहन्छु । साइकलप्रेमी साथीहरुले त साइकलको महत्व बुझ्नुभएकै छ । टुर दी पोखराको र्यालीमा सबैलाई सहभागी हुन अनुरोध गर्दछु । सहभागीका लागि ज्याकेट लिए १२ सय रुपैयाँ लाग्छ । नत्र निःशुल्क नै हो । यो नेपालकै इतिहासमो ठूलो साइकल र्याली पनि हो । त्यसैले टुर दी पोखरा साइकलको कुम्भ हो । यसमा १ हजार ५ सयभन्दा बढी साइकलयात्रीले सहभागिता जनाउने छन् । यसमा मेचीदेखि महाकालीसम्मका साथीहरु सहभागी हुने छन् । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुँदै हुनुहुन्छ । कतिपय देशका राजदूतलाई सहभागी गराउन पनि प्रयास गरिरहेका छौं । साइकल चढे पनि नचढे पनि आएर हौसला प्रदान गरिदिनुहोला भन्न चाहन्छु । साइकल नभएकाहरुका लागि पनि उक्त दिन सस्तो भाडादरमा साइकल उपलब्ध गराउने हाम्रो योजना छ । टुर दी पोखरामा र्यालीका अतिरिक्त रक्तदान, स्लोसाइकल प्रतियोगिता र साइक्लिङ जिकज्याक पनि समावेश गरिएको छ ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
hero news full width
मुख्य समाचार
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१