कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
Tax day (3)

पोखरा । ११ औं राष्ट्रिय कर दिवस–२०७९ तथा कर सप्ताह–२०७९ अवसरमा बुधबार पोखरामा ३ उत्कृष्ट करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराले उनीहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा अटोवेज प्रालि पोखरा–९ नयाँबजार, कर्माचार्य वेक्स एन्ड फुड्स प्रालि पोखरा–९ महेन्द्रपुल र यार्सा ल्याब्स प्रालि पोखरा–३० खुदी रहेका छन् । उनीहरुले क्रमशः मोटरगाडी, खाद्य उत्पादन र सफ्टवेयर उद्योगसम्बन्धी व्यवसाय र कारोबार गर्दै आएका जनाइएको छ । यार्साले गत आर्थिक वर्षमा १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर तिरेको विवरण आन्तरिक राजस्वले उपलब्ध गराएको छ । यसैगरी अटोवेजले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य बेक्सले २६ लाख ४६ हजार ५ सय ९६ रुपैयाँ कर तिरेको प्राप्त विवरणमा उल्लेख छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ती कम्पनीका प्रतिनिधि र सेयर होल्डरलाई कार्यक्रममा खादा, माला र सम्मानपत्र सहित अभिनन्दन गरेका थिए । सो अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराकी नायव सुव्वा छाया भट्टराईलाई उक्त कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी केसीले कर तिर्नेतर्फ सबै करदाता अग्रसर हुनुपर्ने बताए । उत्कृष्ट करदातारुपमा सम्मानित सबै करदाता तथा उद्योगी व्यवसायीका प्रेरणाको स्रोत भएको भन्दै उनले बधाई दिए । सो अवसरमा करको दरभन्दा दायरा बढाउन करदाताले सरकारलाई सुझाव दिएका थिए । बढीभन्दा बढी राजस्व संकलनका लागि करको दरभन्दा करदाताको संख्या बढाएर अगाडि बढ्नुपर्ने सुझाव उनीहरुको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले करशिक्षा विद्यालय र क्याम्पसस्तरमा थप व्यापक रुपमा समावेश गरिनुपर्ने सुझाव राखे । उनले करको दायरा बढाउन सुझाव राख्दै उद्योग व्यवसाय संचालनका लागि फर्म दर्ता प्रणाली खारेज गर्दै आन्तरिक राजस्व कार्यालयमा मात्र दर्ता भए हुने प्रणाली अगाडि बढाउनुपर्ने बताए । ‘विदेशका कतिपय देशमा यो फर्म दर्ता सिष्टम छैन,’ उनले भने । नेपालमा फर्म दर्ता गर्नुपर्दा व्यापार व्यवसाय संचालन अघिको प्रक्रिया झन्झटिलो भएको उनले दाबी गरे । करदाताहरुलाई सरकारले निशुल्क कम्प्युटर र प्रिन्टर उपलब्ध गराउनुपर्ने सुझाव पनि सो अवसरमा उनले राखे ।

नेपाल च्याम्वर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष सिसान सुनारले करसम्बन्धी सचेतनाका कार्यक्रममा आफ्नो संस्थाले आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गर्दै आएको स्मरण गराए । व्यवसायमैत्री कर निर्धारणका लागि समेत आफ्नो संस्थाले सुझाव राख्दै आएको उनले बताए । करको दरभन्दा दायरा बढाउन सुझाव राख्दै उनले कर प्रशासनमा सुधार गर्दै प्रविधिको पाटोलाई समेत चुस्त बनाउन आन्तरिक राजस्व विभागसँग आग्रह गरे ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रशासन विगतमा भन्दा राम्रो हुँदै गएको बताए । कानुनी, नीतिगत र प्रणालीगत सबै हिसाबले यस्तो सुधार भएको दाबी उनले गरे । थप सुधार गर्नेतर्फ आफूहरु प्रतिवद्ध भएको भन्दै उनले गत आर्थिक वर्षमा आफ्नो कार्यालयले लक्ष्यको ९६ प्रतिशतसम्म राजस्व संकलन गर्न सकेको जानकारी दिए । गएको कात्तिक महिना सम्म चालू आर्थिक वर्षमा पनि लक्ष्य प्राप्ती भएको बताउँदै उनले करको दायरा बढाउनेतर्फ आफूहरुले पनि ध्यान दिएको बताए ।

सो अवसरमा सम्मानित प्रालिका तर्फबाट विक्रम कर्माचार्य र नारायण पौडेलले पनि भनाइ राखेका थिए । कार्यक्रमको संचालन कर अधिकृत मदनबहादुर केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width