प्रधानमन्त्री नारामा गगनको जीत

रासस
मंसिर ७, २०७९
gaga

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौं क्षेत्र ४ मा मत मागेका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा ७ हजार ४ सय ४७ मतान्तरले विजयी उनले २१ हजार ३ सय २ मत ल्याउँदा भट्टराईले १३ हजार ८ सय ५५ मत पाएका थिए ।

२०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी भएका उनी नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित उनी २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित भएका थिए ।

विद्यार्थी संघले सचिवका लागि टिकट नदिएपछि उनी विद्रोही समूहबाट सचिव निर्वाचित भए । ०५५ सालको स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्सको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनीत भए । २०५७ सालमा चितवनमा सम्पन्न नेपाल विद्यार्थी संघको नवौं महाधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भए । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी संघको १०औं महाधिवेशनबाट थापा महामन्त्री मनोनी भए । नेवि संघको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उनी चर्चामा आएका हुन् ।

राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो ।

पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्तारूपमा उनले धेरै ठाउँमा सम्बोधन गरे । पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहेका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बने । विसं २०६८ मा उहाँ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी महामन्त्रीमा भने पराजित भएका थिए ।

महामन्त्रीमा हारे पनि थापा केन्द्रीय सदस्य पदमा मनोनीत भए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट उनी पहिलो पटक प्रत्यक्ष सांसद निर्वाचित भए । सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरे भने विसं २०७३ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित बने । स्वास्थ्य मन्त्री हुँदा उनले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाएका थिए ।

स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो । २०७४ का प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उनी काठमाडौं–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बने । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै २०७८ मा कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width