पोखरा विमानस्थल : ग्राउण्ड ह्याण्डलिङ माग्यो निगमले

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
airport

पोखरा । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ ।

निगमले ग्राउन्ड ह्यान्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोतसाधन उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्राधिकरण आफैंले गर्ने जनाएको थियो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको छ । ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ । साथै आन्तरिक वायुसेवाको ग्राउन्ड ह्यान्डलिङसमेत गर्न सक्षम भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्य गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका ३ सहित ८ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।

दिल्ली उडान कटौतीले आम्दानी खुम्चियो

निगमले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ । काठमाडौं–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा संकुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपश्चात साताका ४ उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं) उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइसकिएको छ । साथै, निगमको कटौती भएको उडान यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गनतव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width