गण्डकीबाट प्रतिनिधि सभामा कांग्रेस बलियो

धनबहादुर गुरुङ
मंसिर ७, २०७९
Gandaki Map

पोखरा । गण्डकीबाट प्रतिनिधिसभामा १८ सिटमध्ये नेपाली कांग्रेसले २०७४ सालको चुनावमा १ सिटमात्र जितेको थियो । त्यसबेला बामगठबन्धनविरुद्ध चुनावी मैदानमा एक्लै होमिएको कांग्रेसले नवलपुर १ बाट जीत हासिल गरेको थियो ।

कांग्रेसका डा.शशांक कोइरालाले माओवादी केन्द्रका भविश्वर पराजुलीलाई पराजित गरेका थिए ।

५ वर्षपछि भएको चुनावको रणनीति फरक छ । त्यसबेला मिलेका एमाले र माओवादी छुट्टिएका छन् । यो पटक माओवादीसहित एमालेबाट छुट्टिएको माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी मिलेर यो पटक चुनाव लडेका हुन् । सिट बाँडफाँडमा गण्डकीमा कांग्रेसले १२ सिट राखेर माओवादीलाई ४, जनमोर्चा र समाजवादीलाई १–१ सिट दियो ।

आइतबारको मतदानको नतिजा क्रमशः आउने क्रम जारी छ । हिमालपारिको जिल्ला मनाङ र मुस्ताङबाट कांग्रेसले २ सिट जितिसकेको छ । मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचनले संघीय संसदको दैलो उघारेका छन् । मुस्ताङका टेकबहादुरले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दा मनाङबाट योगेशले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

गण्डकीका बाँकी ९ जिल्लाको मतगणना जारी छ । जसमा कांग्रेसको १० सिटको छिनोफानो हँुदैछ । कांग्रेसको भागमा परेको स्याङ्जा २ मा मतगणना हुन सकेको छैन । कांग्रेसले पाएका बाँकी ९ सिटमध्ये कास्की १ बाहेक सबै क्षेत्रमा अग्रता कायम गरेको छ ।

तनहुँका २ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ । क्षेत्र १ मा रामचन्द्र पौडेल र २ मा शंकर भण्डारी अघि छन् । सो क्षेत्रमा उनीहरुलाई १ मा एमालेको एकबहादुर राना र २ मा किरण गुरुङले पछ्याइरहेका छन् ।

गोरखा १ मा पनि नेपाली कांग्रेस नै अगाडि छ । कांग्रेसका राजेन्द्र बजगाईंले एमालेका रामशरण बस्नेतलाई २ हजार बढी मतान्तरले पछि पारेका छन् । नवलपुरका २ ओटै सिट पाएको कांग्रेसले क्षेत्र १ मा शशांक कोइरालाले एमालेका कृष्ण पौडेललाई पछि पारेका छन् भने २ विष्णु कार्कीलाई एमालेका तिलक महतले पछ्याइरहेका छन् ।

कांग्रेसले पाएको १२ सिटमध्ये २ मा जीत, ८ अग्रता

एकमात्र क्षेत्र रहेको पर्वतमा पनि कांग्रेस अघि छ । अर्जुन जोशीले यसअघिका सांसद एमालेका पदम गिरिलाई पछि पारेका छन् । म्याग्दीमा खम्बिर गर्बुजा अघि छन् । स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता कायमै राखेका छन् ।

कास्की १ मा एमाले अगाडि छ । यहाँ एमालेका मनबहादुर गुरुङले कांग्रेसका किशोरदत्त बराललाई पछि पारेका छन् । गुरुङ र बराल आ–आफ्नो दलका जिल्ला प्रमुख हुन् ।

उता, गण्डकीको अन्य क्षेत्रमा कास्कीका तिन वटै क्षेत्रसहित लमजुङमा एमाले अघि छ । गोरखा २ र बागलुङ २ मा माओवादी केन्द्रले अग्रता बनाइरहेका छन् । बागलुङ १ मा राष्ट्रिय जनमोर्चा अघि छ ।

लमजुङमा एमालेका उपमहासचिवसमेत रहेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रका महासचिव समेत रहेका देव गुरुङलाई पछि पारेका छन् । कास्की २ मा एमालेकी विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई उछिनेकी छन् । सुरुआति गणनामा पछि परेकी विद्याले मंगलबार साँझसम्म ३ सय बढी मतान्तर कायम गरेकी छन् । कास्की ३ मा एमालेका दामोदर पौडेल बैरागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का योगराज पौडेलभन्दा झिनो मतले अघि छन् ।

गोरखा २ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले रास्वपाका कवीन्द्र बुर्लाकोटी र एमालेका अब्दुस मियाँलाई पछि पारेका छन् ।

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् । त्यहाँ एमालेका सूर्य पाठक पछि छन् । बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेललाई एमालेकी मञ्जु शर्मालाई पछि पारेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width