अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७९
calibration flight (2)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्यालिब्रेसन फ्लाइट सुरु भएको छ । जडान उपकरणको क्षमता परीक्षण गर्न उडान सुरु भएको हो ।

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाज र प्राविधिकहरु शनिबार नै पोखरा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ देखि १२ मंसिरसम्म विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

विमानस्थलका प्रवक्ता अनुप जोशीले त्यही प्रयोजनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको जहाज नेपालगञ्जबाट हुँदै पोखरा ल्याइएको बताए । उनका अनुसार २७ नोभेम्बरसम्म यान्त्रिक परीक्षण उडान हुनेछ ।

विमानस्थलमा सरकारले नयाँ वर्ष अवसर पारेर आगामी १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षण हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ । सोही प्रतिवेदन आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदनपछि व्यावसायिक उडानका लागि कम्पनीले अनुमति पाउँछन् ।

क्यालिब्रेसन परीक्षण उडान हुँदा चालु पोखरा विमानस्थलमा उडान प्रभावित हुने

क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ । क्यालिबे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित हुने छन् । त्यसको लागि ‘नोटाम’ जारी गरिएको छ । नोटाम जारी हुँदा अरु नियमित उडान हुन सक्दैनन् । क्यालिब्रेसन परीक्षण उडान हुने भएपछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्ममात्र चालु विमानस्थलबाट उडान हुने छन् । अरु बेला उडान प्रभावित हुने छन् ।

‘आजबाट उडान सुरु भएको छ । प्राविधिकले रिपोर्ट बुझाएपछि हामीले पूर्ण रुपमा हामीले जानकारी पाउँछौं,’ प्रवक्ता जोशीले भने, ‘प्रारम्भिकरुपमा हेर्दा हामीले राम्रो नै पाएका छौं ।’

यो उडानपछि सबै प्राविधिक विषय जानकारी हुने प्रवक्ता जोशीले जानकारी दिए । ‘जहाजले यो रुटमा उड्दा सिंनल पाउँछन् कि पाउँदैन् भन्ने कुरा सुरक्षित गर्ने उनीहरुको दायित्व हो,’ उनले भने, ‘हामीले यहाँ जोडेको फङ्सनले काम गर्छ या परिवर्तन गर्नुपर्छ भनेर सबै चेक गर्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width