५६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७९
election comission

पोखरा । निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी गराएका छन् ।
यसैगरी १ सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने बताए ।

यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनका अनुसार प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ ।

आयोगका अनुसार निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको मुख्य निर्वाचन आयुक्त थपलियाले बताए ।

निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्दै छन् ।

नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिन अवलोकन गरिने भएको छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २ सय १९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको छ । पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेभएका छन् । आयोगले हालसम्म ७ हजार ५ सय जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ ।

मतदानकेन्द्रमा कर्मचारी पुगिसकेका छन् भने सुरक्षा व्यवस्था चुस्त पारिएको छ

आयोगका अनुसार, मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी गरिसकेका छन् । त्यसैगरी आगामी २ दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको थपलियाले बताए ।

मतदान सुरु हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने÷गराउने कार्यलाई पूर्णरुपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवन गर्नेरगराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।’

त्यसैगरी यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था छ ।

त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत् गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको र यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुन बमोजिम कारवाही गर्न आयोगले निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर र्पुयाउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित ३ घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width