पलले दिए उच्च अदालतमा पुनरावेदन

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७९
pal shah

पोखरा । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।
नावालिकामाथि यौन दुरुपयोगको मुद्दामा गत २१ भदौमा जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । उनले भने, ‘नवलपुर जिल्ला अदालतले गरेको फैसलाको उपरमा उच्च अदालतमा पुनरावेदन दिइएको छ । सुरु जिल्ला अदालतले बाल यौन दुरुपयोगमा सजाय गर्न गरेको फैसला कानुनसंगत नभएकोले फैसला उल्टी गरी सफाइ पाउनुपर्ने जिकिर हो ।’

उता, जिल्ला अदालत तनहुँमा विचाराधीन रहेको मुद्दाको पेसी आगामी मंसिर २५ गतेलाई तोकिएको वरिष्ठ अधिवक्ता वाग्लेले आदर्श समाजलाई जानकारी दिए ।

नावालिगमाथि जबरजस्ती करणी आरोपको मुद्दा खेपेका अभिनेता पल शाहले जबरजस्ती करणीको मुद्दामा सफाइ पाए पनि उनीविरुद्ध जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले २१ भदौमा यौन दुरुपयोगमा नवलपुरले सजाय सुनाएको हो ।

अदालतले नावालिगको अभिभावकको जाहेरी र नावालिगले अदालतमा दिएको बयान फरक गरेका कारण एक पटकलाई सचेत गराउने काम गरेको थियो भने सञ्चारमाध्यमलाई पनि सत्यतत्य बुझेर मात्र समाचार सम्प्रेशण गर्न सचेत गराएको थियो ।

सुरुआतमा जिल्ला सरकारी वकिलको कार्यालयले पलविरुद्ध कम्तीमा ६ वटा प्रमाण जुटाएर बलात्कार अभियोगमा अधिकतम् १४ वर्षसम्म कैद सजायको माग दाबी गरेको थियो ।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी नावालिगले पलविरुद्ध ११ फागुन, २०७८ जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

सुरुआतमा बलात्कृत भएको भनी उजुरी दिएकी नावालिगले पछि आफूलाई पलले बलात्कार नै नगरेको भनी सुरु जिल्ला अदालतमा बकपत्रमा बयान फेरेकी थिइन् । यस्तै, मुद्दामा सहप्रतिवादी कृष्ण जोशी धरौटीमा रिहा भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width