प्याराग्लाइडिङमा ज्यान गुमाएका निस्सिम थापालाई सरकारले बिर्सिसकेको हो ?

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७९
nissim thapa (2)

मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण बुझाउँदै निस्सिम थापाका बुवा प्रकाश

पोखरा । पोखरामा नवौं राष्ट्रिय खेलकुलको रौनक बढिरहेको थियो । सयौं खेलाडीहरुले उत्साहपूर्णरुपमा सहभागिता जनाइरहेका थिए । आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्को बग्रेल्ती कमजोरीबीच पनि खेलाडीहरु उत्साही नै थिए । असोज ३० गते प्याराग्लाइडिङ प्रतियोगिताको पालो थियो । जसमा गोल्ड मेडल हात पार्न आतुर थिए, गोरखा पालुङटार घर भई हाल पोखरा बस्दै आएका निस्सिम थापा ।

त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगी बनेका थिए २८ वर्षे थापा । भारतको इन्दुज भ्याली प्याराग्लाइडिङबाट ७ वर्षअघि प्याराग्लाइडिङ अध्ययन गरेर फर्केका उनले विश्व हवाइ खेलकुद महासंघ (एफएआई) बाट लाइसेन्स प्राप्त गरेका थिए । इन्डोनेसियामा सम्पन्न एसियन तथा प्रिवल्र्डकप प्रतियोगितामा सहभागिता जनाइसकेको उनले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएका थिए । व्यावसायिक उडानभन्दा खेलतर्फ समर्पित उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा अस्ताए ।

दुर्घटना भवितव्य हो । तर दुर्घटनापछि हुने खतराबाट बच्नका लागि अपनाउनुपर्ने तयारी आयोजककातर्फबाट पटक्कै भएन । सराङकोटस्थित ब्लुस्काइ टेकअफको नजिकै निजी घर बनिरहेको छ । उडान भरेलगत्तै ग्लाइडरमा समस्या आयो र उनी त्यही घरमा बज्रिए । घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडान नै बन्द गरायो । पर्यटकीय सिजनका बेलमा प्राधिकरणको यो निर्णयमा व्यवसायीहरुले विरोध गरेपछि १ सातापछि पुनः सञ्चालन भयो ।

आयोजक संस्थाले दिवंगत थापालाई मानार्थ गोल्डमेडल प्रदान गर्‍यो । उनको सम्मानमा पोखरा रंगशालामा अर्धकदको शालिक निर्माणको घोषणासमेत ग¥यो । तर घटना भएको यति दिन बितिसक्दा पनि सरकारी निकायबाट निस्सिमको परिवारमा कसैले सम्पर्क गरेको छैन । शुक्रबार दिउँसो उनका आमाबुबा, हजुरआमा, मामा माइजूसहितका आफन्त गण्डकीकाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई गुनासो सुनाउन आए । आमा सावित्री थापा मोक्तानका आँखा ओभाएकै थिएनन् । आँखाका कोस फुलेकै थिए । जब बाबु प्रकाशले ज्ञापनपत्र पढेर सुनाउन थाले, सावित्री भक्कानिन थालिन् । उसो त ज्ञापनपत्र पढिरहँदा प्रकाशको गला पनि बारम्बार अवरुद्ध भइरहेको थियो । आफन्त सबैको अनुहार मलिन थियो ।

निस्सिमका आमाबाबु र आफन्तको त्यति ठूलो माग पनि छैन । देशको गौरवका लागि प्रतियोगितामा भाग लिँदा मृत्यु भएको एक युवाको योगदानको कदर होस् भन्ने हो । अनि आगामी दिन यस्ता लापरबाहीबाट अरु कसैले ज्यान गुमाउन नपरोस् भन्ने पनि हो ।

‘ब्लुस्काइ टेकअफको स्थान माथिपट्टिको भागमा हाल भवन निर्माण कार्य भइरहेको र जताततै फलामका रडहरु रहेको अवस्थामा आयोजकले यस किसिमको प्रतियोगिता सञ्चालन गर्नु आफैंमा अव्यावहारिक थियो,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्यान गुमाएका खेलाडी थापालाई राष्ट्रिय सम्मान प्रदान गरी उनको अर्धकदको सालिक निर्माण गरिने सम्बन्धमा भएको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन र उनको फोटो प्रतिबिम्बका लागि परिवारसँग समन्वय गरिनुपर्ने माग थापा परिवारको छ । निस्सिमको नाममा ट्रस्ट स्थापना गरी प्रत्येक प्याराल्गाइडिङमा उत्कृष्ट योगदान गर्ने तथा प्याराग्लाइडिङमा उत्कृष्ट योगदान गर्ने तथा प्याराग्लाइडिङ दुर्घटनामा परेका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गर्न पनि माग गरिएको छ ।

दिवंगत खेलाडी थापाका लागि राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल एअर स्पोर्ट्स एसोसिएसन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बिमावापत्को रकम प्रदान गरिदिन बुबा प्रकाशले आग्रह गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ, ‘थापाले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्याराग्लाइडिङमा पु¥याएको योगदान उल्लेख हुनेगरी विद्यालय पाठ्यक्रममा उनको जीवनी समावेश गरियोस् ।’

प्याराग्लाइडिङका सबै टेकअफहरुमा २४ घन्टे सिसी क्यामेराको व्यवस्था अनिवार्य रुपमा गरी ड्रोन प्रविधिबाट समेत प्रतियोगिताको रकेर्ड राखिनुपर्ने उनीहरुको माग छ । यसैगरी प्रतियोगितास्थलमा प्यारामेडिक्सको व्यवस्था गरी घटनास्थलमै चिकित्सकद्वारा आधारभूत उपचारको व्यवस्थाका लागि ध्यानाकर्षण गराइएको छ ।

यसैगरी खेलाडीका लागि उचित जीवन बिमाको व्यवस्था गरिनुपर्ने, खेलाडीलाई प्रतियोगितामा अनुबन्धन गर्दा अनिवार्यरुपमा परिवारको स्वीकृति लिनुपर्ने माग राखिएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर मात्र प्रतियोगिता सञ्चालन गर्न पनि थापाको परिवारले ध्यानाकर्षण गराएको छ ।

फेवातालमा पूर्णकालीन कर्मचारी राखी २४ घन्टे मोटरबोट सुरक्षा अनुगमनको व्यवस्था हुनुपर्ने, टेकअफ क्षेत्रमा भवन निर्माण भइरहेको सन्दर्भमा उड्डयन मापदण्डअनुसार उडान क्षेत्रमा यस प्रकारको निर्माण गतिविधिमा पोखरा महानगरको समन्वयमा आवश्यक अनुगमन गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सरकार संवेदनशील : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौं राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका खेलाडी निस्सिम थापाको परिवारले क्षतिपूर्तिका साथ उनको अर्धकदको सालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । थापाका परिवारले शुक्रबार बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले यस घटनालाई प्रदेश सरकारले गम्भीररुपमा लिएको बताएका हुन् । प्रदेश सरकारकातर्फबाट गर्न सक्ने विषय यहाँबाट गर्ने र बाँकी विषयमा संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाएका छन् । प्याराग्लाइडिङ उडानका क्रममा अपनाउनुपर्ने सुरक्षा प्रबन्धका बारेमा उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width