तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७९
Tulasiko-Motha

पोखरा । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ।

तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ।आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ।

रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ। यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ।

किसानले उखुको बोट मठमा गाड्छन्। आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।

Related News

सम्बन्धित समाचार

  • विवाह पञ्चमी पर्व देशभर मनाइँदै

    रासस मंसिर १२, २०७९
    काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा…
  • घार्मीमा बालाचतुर्दशी मनाइने

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ । मंसिर ६ गते बालाचतुर्दशी अवसरमा घार्मीस्थित ओमकारेश्वर…
  • राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा   

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०७९
    मुस्ताङ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका एक…
  • सूर्यदेवको आरधना गरी मनाइँदै छठ

    आदर्श समाज सम्वाददाता कार्तिक १३, २०७९
    काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ्य दिइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने…
  • पुन जाति र भाषा विषयक पुस्तक लोकार्पण

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०७९
    पोखरा। पुन समाज नेपाल केन्द्रिय समितिद्वारा प्रकाशित पुन जाति र भाषा विषयक कृति शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल…

hero news full width