बिजी बी टिमद्वारा कोरियन रेष्टुरेण्ट आरम्भ

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७९
20221024_114247

पोखरा, ७ कात्तिक । पोखराको बिजी बी टिमले स्थानीय लेकसाइड स्थित १५ नम्बर स्ट्रिटमा बिजी बी कोरियन रेष्टुरेण्ट आरम्भ गरेको छ । अग्रज विमान चालक विजय लामाले एक समारोहका विच सोमबार रेष्टुरेण्टको उद्घाटन गरे ।

नेपाली स्वादसँग मिल्ने कोरियन भोजन अमिलो, पिरो, गुलियो र नुनिलोसँग सम्बन्धित छ । मौलिक स्वादका लागि प्रयोग हुने सबै मसला कोरियाबाट नै आयात गरिएको जनाइएको छ । खानाका लागि प्रयोग हुने भाँडाहरु, टेवल र कुर्ची समेत कोरियन शैलीका नै रहेका छन् । शाकाहारी र मांसहारी सबैका लागि मिल्ने आठ र साइड खाना बाहेक ४५ प्रकारका कोरियन खाना रेष्टुरेण्टमा उपलब्ध छन् ।

उद्घाटनका अवसरमा बोल्दै क्याप्टेन लामाले कोरियन खानाको धेरै पक्षहरु नेपाली खानासँग मिल्ने बताउँदै देशविदेशका पर्यटक र खानाका पारखीका लागि नयाँ खोलिएको उक्त रेष्टुरेण्ट उपयुक्त गन्तव्य हुन सक्ने विश्वास व्यक्त गरे । विदेशी भन्दा पनि आन्तरिक पर्यटनमा जोड दिन सके देशको पर्यटनले फड्को मार्न सक्ने सुझाव पनि उनले सो अवसरमा दिए । बोलेर भन्दा काम गरेर देखाउने बानीको विकास नेपालीले गर्नुपर्ने भन्दै उनले काम गरेर नै देश आत्मनिर्भर बन्न सक्ने भनाई राखे ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशवहादुर भट्टराईले खाना र पोषण मानव जीवनका लागि अपरिहार्य पक्ष भएको बताए । नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटक बढाउनेतर्फ ध्यान दिन नसकेको आरोप लगाउँदै भट्टराईले दुर्घटनाको कारण देखाउँदै नेपालमा प्याराग्लाइडिङ रोक्ने अधिकार नेपाल सरकारलाई नभएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अहिले बैंकले ब्याजदर बढाएर १७ प्रतिशतसम्म पुर्याएको र देशको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थाबाट गुज्रिएको अवस्थामा पनि बिजी बीले आफ्नो सेवा विस्तार गर्नु सकारात्मक पक्ष भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंकदर चर्को रुपमा बढ्दा पनि राज्यले नियन्त्रण गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । प्याराग्लाइडिङ दुर्घटनामा जो सुकैको निधन हुनु दुःखद भन्दै उनले यस्ता घटना देखाएर सेवा नै रोक्ने निर्णय गर्नु सरकारको गैरजिम्मेवारीपन भएको बताए ।

बीजी बी टिमका निर्देशक सुनिलवहादुर भट्टराईले नाइटलाइफका हिसावले बिजी बी पोखरामा पायोनियर भएको बताउँदै आगामी दिनमा काठमाडौंको ठमेलमा समेत नयाँ रेष्टुरेण्ट खोल्ने आफ्नो समूहको योजना सुनाए । नेपालका अन्य शहरमा समेत सेवा विस्तार गर्दै जाने जानकारी पनि उनले दिए ।

बिजी बी टिमका अध्यक्ष ज्याक तामाङले व्यवसाय गरी खानलाई नेपालमा अझै पनि सहज अवस्था नभएको बताउँदै सरकारले अफ्ठ्यारो अवस्थामा सहजकर्ताको भूमिका खेल्न सक्नुपर्ने भनाई राखे । मझौला खालको व्यवासय मार्फत् रातदिन खटेर आफूहरुले केही रोजगारी सिर्जना गर्न खोजेको भन्दै उनले सरकारका तर्फबाट मनोवल र हौसला बढाउने काम नभएको दुःखेसो पोखे । दैनिक सयौं युवा लस्कर लगाएर विदेश गएको स्मरण गराउँदै उनले केही गर्छु भन्नेलाई बैंकको चर्को ब्याजले ढाड सेक्ने काम गरेको बताए । २०४० ताका विमविम रेष्टुरेण्टबाट सेवा आरम्भ गरेको यो समूहले बिजी बी क्याफे हुँदै २०१९ मा बिजी बी रिसोर्ट संचालनमा ल्याएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width