मगर भाषाको मुक्तक संग्रह ‘बरनौली’ लोकार्पण

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७९
rim rana muktak newss

पोखरा । साहित्यकार रिमबहादुर रानामगरद्वारा लिखित मगर भाषाको मुक्तक संग्रह ‘बरनौली’ को शनिबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशद्वारा आयोजित लोकार्पण कार्यक्रममा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक चर्तीमगर, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ र नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’ले संयुक्त रुपमा कृति लोकार्पण गरेका थिए ।

‘बरनौली’ मुक्तक संग्रह रानामगरको पहिलो साहित्यिक कृति हो । कृति लोकार्पण पछि मन्त्री चर्तीमगरले मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने थुप्रै आधार रहेको बताए । मगर भाषालाई प्रदेशको सरकारी कामकाजमा प्रयोग गर्ने प्रयत्न आफ्नो कार्यकालमा सफल हुन नसकेको भन्दै मन्त्री चर्तीमगरले आगामी निर्वाचित सरकारले मगरलगायतका बहुसंख्यक जनताले बोल्ने मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न व्यवस्था गर्नुपर्ने बताए । मगर जाति वर्गीय र जातीय दुवै हिसाबले उत्पीडनमा रहेको भन्दै उनले विगतको राज्यसत्ताले साम, दाम, दण्ड र भेदको नीतिले मगरलगायत आदिवासी जनजाति समुदायमाथि थिचोमिचो र दमन गरेको दाबी गरे । मगर जातिको भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि राजनीतिक तहबाट आफूले सक्दो प्रयत्न गर्ने उनको भनाइ थियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले विद्यालयमा मगर भाषाको पढाइका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै मगर भाषाको साहित्य विकासमा विशेष ध्यान दिन मगर समुदायसँग आग्रह गरे । स्थापना भएदेखि नै प्रतिष्ठानले मगरलगायत मातृभाषाको संरक्षणको कार्यक्रम अघि बढाएको जनाउँदै कुलपति खड्काले प्रयोगमा आउन छाडे मातृभाषा लोप भएर जाने बताए । कृतिका स्रष्टा रिमबहादुर रानामगरले निकै पहिलेदेखि नै आफूले मगर भाषाको साहित्यिक कृति प्रकाशन गर्न खोजे पनि बल्ल अहिले आएर सम्भव भएको बताए । लामो संघर्षपछि आफूले मगर भाषामा मुक्तक संग्रह लिएर आएको भन्दै उनले आगामी दिनमा समेत साहित्य लेखनलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

नेपाल मगर लेखक संघका केन्द्रीय सचिव एवं पत्रकार रूद्रबहादुर श्रीसमगरले कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय भाषिक उपाध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर संघ, कास्कीका भाषा विभाग प्रमुख शिव थापामगर, सेती काली साहित्य संगम तनहुँका अध्यक्ष नारायणकैलाश सिग्देल, शुक्ला साहित्य संगम, तनहुँका उपाध्यक्ष रामशरण गैरे, मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानामगर, रेडियो नेपालका सञ्चारकर्मी गोविन्द सिञ्जालीमगर, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र सन्देश मगरले बोलेका थिए । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्क आलेमगरले स्वागत र सह–सचिव दीपक सिंजालीमगरले स्रष्टा परिचय गराएको थिए ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width