गण्डकीका सांसदको बिदाइ, अझै फिर्ता भएन गाडी

प्रकाश ढकाल
असाेज १५, २०७९
parliament 1

पोखरा । गण्डकी प्रदेशसभाका सांसदलाई शुक्रबार बिदाइ गरिएको छ । प्रदेशसभा सचिवालयले दसैंको शुभकामनाका साथ कदरपत्रसहित उनीहरुलाई बिदाइ गरेको हो ।

सांसदहरुलाई पित्तलको पत्रमा फ्रेम हालेर कदरपत्र दिइएको हो । ५८ जना सांसदलाई कदरपत्रका लागि साढे २ लाख रुपैयाँ खर्च भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गण्डकी प्रदेशसभामा पहिलो प्रदेशसभा सदस्यको हैसियतमा व्यवस्थापिकीय एवं विधायिकी कार्यसम्पादन गरेको भन्दै उनीहरुलाई कदरपत्र दिइएको हो । सांसदहरुको म्याद असोज १ गते नै सकिए पनि मुद्दा विचाराधीन छ । त्यसैले अझै कहिलेसम्म म्याद भन्ने टुंगिएको छैन । यद्यपि कदरपत्रमा असोज १ गतेको मिति राखिएको छ । प्रत्येकलाई साढे ४ हजार रुपैयाँ पर्ने कदरपत्र दिइएको हो ।

५८ जना सांसदलाई कदरपत्रका लागि साढे २ लाख रुपैयाँ खर्च

पदाधिकारीहरुले कदरपत्र लिएर बाहिरिंदा समेत सरकारी सुविधाको गाडी र अन्य सामग्री फिर्ता गरेका छैनन् । सरकारी गाडी चढेरै आएका उनीहरु सोही गाडी चढेर बिदाइको कदरपत्रसहित बाहिरिए । प्रदेशसभाका ११ जनाले गाडी सुविधा पाएका थिए । सभामुख र उपसभामुख सहित विपक्षी दलको नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र प्रदेशसभा समितिका सभापतिलाई चालकसहितको सवारीसाधन दिइएको छ । सुविधा लिनेमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता हरिबहादुर चुमान, नेपाली कांग्रेस प्रमुख सचेतक ओमकला गौतम चालिसे, नेकपा (एमाले) प्रमुख सचेतक मायानाथ अधिकारी, माओवादी केन्द्र प्रमुख सचेतक गायत्री गुरुङ, राष्ट्रिय जनमोर्चा दल नेता पियारी थापा, नेपाल समाजवादी पार्टी प्रमुख सचेतक धनमाया पोखरेल लामाले सवारी सुविधा पाएका थिए । एमाले नेता गुरुङले संसद सचिवालयको गाडी छोडेर आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्ने गाडी नै लिएर हिंडेका थिए ।

यस्तै, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, सार्वजनिक लेखा समिति सभापति रोशन गाहा र प्रदेश मामिला सभापति खिमविक्रम शाहीले गाडी र ल्यापटप सुविधा लिए । एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, कांग्रेस प्रमुख सचेतक ओमकला गौतम, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता पियारी थापाले गाडी फिर्ता गरेका छन् । अधिकारी र कोइरालाले शुक्रबार नै गाडी बुझाएर निस्किएका हुन् । विधायन समिति सभापति लामिछाने र अर्थ तथा विकास समिति सभापति कोइरालाले ल्यापटप पनि सचिवालयमा फिर्ता गरेका छन् । बाँकी २ सभापतिले ल्यापटप फिर्ता गरेका छैनन् ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सांसदहरुलाई कदरपत्र दिएका थिए । उनले गणतन्त्र स्थापनादेखि प्रदेश संरचनामा पहिलो सांसद भएर सफलतापूर्वक अवधि पूरा गरेकोमा सबैलाई बधाई दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width