एउटा पहिरोमा अल्झिएको उत्तरी गोरखा

प्रकाश ढकाल
असाेज १५, २०७९
gorkha

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका हालसम्म सडक सञ्जालले नछोएको पालिका हो । हुनेखानेले हेलिकोप्टरबाटै सामान झिकाएर खान्छन् । विपन्न परिवारले घोडा खच्चड र मान्छेलाई बोकाएर उपभोग्य सामान ढुवानी गर्छन् । अहिले भने लोक्पामा झरेको ठूलो पहिरोका कारण ढुवानी हुन सकेको छैन ।

वडा ६ को ड्युखोला र सर्दीभीरमा ३ महिनादेखि पहिरो झरेको हो । सोही पहिरोका कारण चुम्चेत र छेकम्पार क्षेत्रका नागरिकलाई नुनतेलदेखि चामलसम्म अभाव हुन थालेको छ । वडा ६ का अध्यक्ष सरोज लामा वर्षौंदेखि यही नियति भोग्नुपरेको गुनासो गर्छन् ।

‘तीन महिनादेखि ढुवानी भएको छैन । यही स्थिति रहे भोकमरी लाग्ने अवस्था छ,’ उनले भने, ‘तत्कालै सरकारले हेलिकोप्टरबाटै भए पनि ढुवानी गरिदिनुपर्‍यो ।’ खाद्य डिपोमा समेत चामल सकिन लागेको छ । ‘यो समस्या अहिलेको मात्रै होइन । सधैं यस्तै हो,’ उनले भने, ‘माथिको नाका पनि बन्द छ । तलको बाटो पनि बन्द छ । हामी कहाँबाट के ल्याएर खाने ?’

पहिरो करिब ८ सय मिटर लामो छ । पहिरोका कारण मान्छे र खच्चड हिंड्न सक्दैन । त्यहाँका ५ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न अभाव देखिन थालेको वडाध्यक्षहरुले बताएका छन् । चाडबाडका बेला उत्तरी गोरखाका नागरिकको चुलो नबल्ने अवस्था आइपरेको छ । खाद्यान्नसँगै धार्मिक र सांस्कृतिक काम गर्न पनि सामान नपाएको उनीहरूको गुनासो छ । ‘गुम्बामा बाल्ने बत्ति सकियो । तेल पनि छैन । चामल नपाएको धेरै भइसक्यो,’ स्थानीय ङवाङ लामा भन्छन्, ‘न पितृकार्य गर्न पाएका छौं, न गाउँलेलाई खुवाउन पाएका छौं । घरमै खाने अन्न सकिने बेला भयो ।’

उत्तरी गोरखामा सामान ढुवानी गर्न खाद्य संस्थानले टेन्डर निकाल्छ । सरकारी प्रक्रियाका कारण सधैं ढिलो ठेक्का लाग्छ । त्यसमाथि ठेकेदारको मनोमानीले समयमा ढुवानी हुन सक्दैन । सिर्दिवासमा डिपो राखेर संस्थानले चामल वितरण गर्छ । डिपोबाट भर्खरै सरुवा भएका डिपो प्रमुख गोपाल राई सरकारले उत्तरी क्षेत्रको समस्या नबुझेका कारण गाह्रो भएको बताउँछन् । ‘जेठसम्म ढुवानी भैसक्नुपथ्र्यो भएन । त्यहाँ डिपोको भण्डारण क्षमता पनि ५ सय क्विन्टलमात्रै छ,’ उनले भने, ‘डिपोको स्टोरलाई व्यवस्थित गर्ने र समयमा ढुवानीको ठेक्का दिने भने यो समस्या आउँदैन ।’

उनका अनुसार त्यहाँ कम्तीमा २ हजार क्विन्टल अट्ने डिपो बनाइनुपर्छ । ‘महँगो तिरेर खान्छु भन्दा पनि सरकारले मागेजति चामल दिन सक्दैन । ८ सय क्विन्टल अट्ने डिपो हो, ५ सयभन्दा भण्डारण गर्न सकिंदैन,’ उनले भने, ‘डिपोबाट ४/५ दिन लगाएर चामल लिन आउँछन् । खच्चडवालाले उस्तै महँगो भन्छ । वास्तवमै त्यहाँका नागरिकको व्यथा साह्रो छ ।’ सहरमा १२ सय रुपैयाँ हाराहारी पर्ने सोना मनसुली चामलको मूल्य सिर्दिवाससम्म पुग्दा २ हजार २ सयभन्दा बढी पर्छ । त्यहाँबाट पनि थप ढुवानी गर्दा साम्दो र सामागाउँसम्म अझै महँगो पर्छ ।

पहिरोले बाहिरका मान्छे गाउँ फर्किन पनि सकेका छैनन् । चुमभ्याली आउजाउ गर्न पर्यटकलाई समस्या परेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । गत वर्ष पनि यहीं पहिरोका कारण हेलिकोप्टरबाट सामग्री ढुवानी गर्नुपरेको थियो । अहिले पनि स्थानीय हेलिकोप्टरबाट ढुवानी हुने आशमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width