वडा अध्यक्ष क्षत्रीद्वारा विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७९
sahayog hastrantaran

पोखरा, १४ असोज । स्याङ्जाको फेदीखोला गाउँपालिका १ का वडाध्यक्ष अमृत क्षत्रीले आफ्नो तलबभत्ता वापतको रकम विद्यालयलाई सहयोग गरेका छन् ।

उनले फेदीखोला १ स्थित पर्सेभाटीस्थित शिवालय आधारभूत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । सो वापतको रकम उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुली, निमित्त प्रअ शान्तदेवी न्यौपानेलाई रकम हस्तान्तरण गरे ।

आफूले प्राप्त गर्ने सेवासुविधाको रकमबाट निजी स्रोतमा १ शिक्षकको तलबभत्ता बराबर हुन आउने १ लाख ४ हजार रुपैयाँ प्रदान गर्ने उनले घोषणा गरेका थिए । बाँकी रकम पनि क्रमशः उपलब्ध गराउँदै जाने उनले प्रतिवद्धता व्यक्त गरे ।

कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा शिक्षक कर्मचारी १४ जना छन् । जसमा ४ जना शिक्षक, बाल शिक्षिका र १ जना कार्यालय सहयोगी सरकारी दरबन्दीका हुन् भने बाँकी ९ जना निजी स्रोतबाट तलबभत्ताको व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए ।

उनले भने, ‘हामीले निकै कठिन हिसाबले विद्यालय सञ्चालन गरिरहेका छौैं । निजी स्रोतबाट शिक्षक र बस ड्राइभर गरी ९ जनालाई चन्दा उठाएर तलब खुवाएका छौं । जसमा केही सहयोग गाउँपालिका र वडा कार्यालयले गरेका छन् ।’ विद्यालयमा हाल १ सय ९४ जना विद्यार्थी पढ्छन् । आगामी शैक्षिकसत्रदेखि कक्षा ९ र १० सम्म कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको पराजुलीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width